राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले आज २८ जिल्लामा पहिलो जिल्ला अधिवेशन सम्पन्न गर्दैछ। यससँगै पार्टीले आगामी राष्ट्रिय महाधिवेशनको तयारीलाई तीव्र बनाएको छ।
केन्द्रीय निर्वाचन आयोगका प्रमुख भुवन केसीका अनुसार कोसी प्रदेशका चार, मधेसका चार, बागमतीका दुई, गण्डकीका चार, लुम्बिनीका तीन, कर्णालीका छ र सुदूरपश्चिमका पाँच जिल्लामा अधिवेशन हुन गइरहेका छन्। यी जिल्लाहरूमा उदयपुर, सोलुखुम्बू, खोटाङ, इलाम, सिराहा, धनुषा, पर्सा, सर्लाही, चितवन, दोलखा, तनहुँ, नवलपरासी (बर्दघाट सुस्ता पूर्व), गोरखा, लमजुङ, अर्घाखाँची, रुपन्देही, प्युठान, सुर्खेत, जाजरकोट, दैलेख, रुकुम (पश्चिम), मुगु, जुम्ला, अछाम, डोटी, कैलाली, कञ्चनपुर र बाजुरा रहेका छन्।
आयोगले जिल्ला अधिवेशनको निर्वाचन प्रक्रिया निष्पक्ष रूपमा सम्पन्न गर्न प्रत्येक जिल्लामा तीन सदस्यीय निर्वाचन समिति परिचालन गरेको जनाएको छ। यसअघि शनिबार रास्वपाले ३८ जिल्लामा अधिवेशन सम्पन्न गरिसकेको छ।
आयोगका अनुसार शनिबार झापा, मोरङ, तेह्रथुम, ताप्लेजुङ, भोजपुर, सङ्खुवासभा, ओखलढुङ्गा, सुनसरी, महोत्तरी, रौतहट, दोलखा, काठमाडौँ, भक्तपुर, नुवाकोट, धादिङ, मकवानपुर, काभ्रेपलाञ्चोक, सिन्धुपाल्चोक र सिन्धुलीमा अधिवेशन सम्पन्न भएका छन्। यसैगरी, ताप्लेजुङ, सुनसरी, स्याङ्जा, कास्की, पर्वत, बागलुङ, म्याग्दी, गुल्मी, नवलपरासी, पाल्पा, कपिलवस्तु, दाङ, बाँके, बर्दिया, रोल्पा, कालिकोट, सल्यान, बैतडी, बझाङ र दार्चुलामा पनि अधिवेशन भई नयाँ नेतृत्व चयन भइसकेको छ।
जिल्ला अधिवेशनहरू पार्टीलाई तदर्थ संरचनाबाट पूर्ण वैधानिक र जनअनुमोदित संरचनामा रूपान्तरण गर्ने महत्वपूर्ण खुड्किला भएको पार्टीले जनाएको छ। आन्तरिक लोकतान्त्रिक अभ्यासलाई स्वच्छ, निष्पक्ष र शान्तिपूर्ण रूपमा सम्पन्न गर्न सम्पूर्ण सरोकारवालाहरूमा आयोगले अनुरोध गरेको छ। विशेष साङ्गठनिक परिस्थितिका कारण बारा जिल्लाको अधिवेशन भने यही जेठ २६ गते हुने तय भएको छ।
रास्वपाले प्रथम राष्ट्रिय महाधिवेशनअगावै ७७ मध्ये ६७ जिल्लामा अधिवेशन सम्पन्न गर्ने लक्ष्य राखेको छ। बाँकी १० जिल्लाको अधिवेशन राष्ट्रिय महाधिवेशनपछि हुनेछ। यसैगरी, जेठ २६ गतेदेखि पार्टीको प्रदेश अधिवेशनहरू प्रारम्भ हुनेछन्। प्रदेश अधिवेशनहरू सञ्चालन गर्न सातवटै प्रदेशमा पाँच सदस्यीय प्रदेश निर्वाचन समिति गठन गरिएका छन्। पार्टीको प्रथम राष्ट्रिय महाधिवेशन आगामी असार ७ देखि ९ गतेसम्म चितवनमा आयोजना हुने कार्यक्रम छ।
