राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का महामन्त्री कविन्द्र बुर्लाकोटीले पार्टीका सबै तहका नेता तथा कार्यकर्तालाई संयमित, जिम्मेवार र अनुशासित हुन आह्वान गरेका छन्। पोखरामा आयोजित रास्वपा गण्डकी प्रदेश समितिको प्रथम अधिवेशनको उद्घाटन समारोहमा बोल्दै उनले पार्टी छोटो अवधिमै देश निर्माणको जिम्मेवारीमा पुगेको उल्लेख गरे। संगठनलाई अझ व्यवस्थित र परिपक्व बनाउनुपर्ने आवश्यकता उनले औंल्याए।
अधिवेशनहरूले नीति र नेतृत्वलाई खार्ने बताउँदै बुर्लाकोटीले महाधिवेशनको तयारीसँगै पार्टीलाई बृहत्तर संगठनका रूपमा विकास गर्नुपर्ने धारणा राखे। “एक समय हामी धेरै भोकाएका थियौँ, अहिले मोटाएका छौँ। अब संयम आवश्यक छ,” उनले भने। रास्वपा कुनै एक व्यक्तिको नभई सम्पूर्ण नेपाली नागरिकको साझा राजनीतिक अभियान भएको स्पष्ट पारे। सबैले जिम्मेवारीको दायराभित्र रहेर काम गर्नुपर्नेमा जोड दिए।
कार्यक्रममा रास्वपा संसदीय दलका उपनेता गणेश पराजुलीले पार्टी र सरकारबीच समस्या नरहेको दाबी गरे। नेतृत्वबीच जिम्मेवारी बाँडफाँटमार्फत संगठन र शासन सञ्चालन व्यवस्थित रूपमा अघि बढेको बताए। प्रतिनिधिसभा सदस्य तथा सचिवालय सदस्य सागर ढकालले देशको कायापलट गर्ने उद्देश्यले पार्टी स्थापना भएको उल्लेख गरे। पद र जिम्मेवारीलाई प्रतिष्ठाको विषय नबनाउन कार्यकर्तालाई आग्रह गरे।
रास्वपा गण्डकी प्रदेश सभापति राजन गौतमका अनुसार अधिवेशनबाट सर्वसम्मत नेतृत्व चयनलाई प्राथमिकता दिइएको छ। प्रदेशका ६४ पालिका, ५५५ वडा तथा नौ जिल्लामा अधिवेशन सम्पन्न भइसकेको छ। ७३५ प्रतिनिधिको सहभागितामा नयाँ नेतृत्व चयन प्रक्रिया अघि बढेको छ।
