रौतहट प्रहरीले जेठ महिनामा १ करोड ४३ लाख ५८ हजार ९८५ रुपैयाँ बराबरका अवैध सामान बरामद गरेको छ। प्रहरी उपरीक्षक सिताराम रिजालको निर्देशनमा तस्करी नियन्त्रण, अपराध अनुसन्धान र जनचेतनाका कार्यक्रममा उल्लेख्य प्रगति हासिल भएको छ।
प्रहरी नायब उपरीक्षक बसन्त गौतमले जारी गरेको विज्ञप्ति अनुसार, तस्करीमा संलग्न एक व्यक्ति र तीन वटा सवारी साधन नियन्त्रणमा लिइएका छन्। जेठ महिनाभर जिल्लामा कुल ११९ वटा मुद्दा दर्ता भएका छन्। ज्यानसम्बन्धी १३, आत्महत्या २६, चोरी २, संगठित तथा आर्थिक अपराध ३०, सामाजिक अपराध १७, महिला तथा बालबालिकासम्बन्धी १२, सवारी ज्यान ५ र अन्य १४ वटा मुद्दा दर्ता भएका छन्।
जघन्य तथा गम्भीर अपराधतर्फ कर्तव्य ज्यान १, हातहतियार १, बैंकिङ कसुर २४, हुण्डी १ र ठगी ५ गरी कुल ३२ वटा मुद्दा दर्ता भएका छन्।
फरार प्रतिवादी पक्राउ र जरिवाना असुलीमा प्रहरी सक्रिय देखिएको छ। ६५४ वटा ठाडो उजुरीमध्ये ५३७ वटा फर्छ्योट भएका छन् भने ११७ वटामा अनुसन्धान जारी छ। १७० जना फरार प्रतिवादी पक्राउ परेका छन्। उनीहरूबाट १० वर्ष ७ महिना १९ दिन कैद सजाय कार्यान्वयन गरिएको छ। साथै, ३४ लाख ७३ हजार १२० रुपैयाँ जरिवाना असुल गरिएको छ।
लागुऔषध नियन्त्रण अभियानअन्तर्गत ३ वटा मुद्दामा ४ जना पक्राउ परेका छन्। यस क्रममा १८९ किलो ५५ ग्राम गाँजा र ६ ग्राम ३६० मिलिग्राम ब्राउन सुगर बरामद गरिएको छ।
महिला, बालबालिका तथा ज्येष्ठ नागरिकसम्बन्धी १६० उजुरी प्राप्त भएकामा घरेलु हिंसाका ४२ उजुरी दर्ता भएका छन्। अनुचित लेनदेन (मिटरब्याज) सम्बन्धी ७ वटा मुद्दा फर्छ्योट गर्दै पीडितलाई २६ लाख ८५ हजार रुपैयाँ नगद र ७ कठ्ठा १५ धुर जग्गा फिर्ता गराइएको छ।
ट्राफिक नियम उल्लंघन गर्ने १ हजार ५९ सवारी साधनलाई कारबाही गर्दा ९ लाख ६१ हजार रुपैयाँ राजस्व संकलन भएको छ। यस अवधिमा ८२ वटा सवारी दुर्घटना हुँदा ४ जनाको मृत्यु भएको छ भने १२२ जना घाइते भएका छन्।
९२ वटा जनचेतनामूलक कार्यक्रम सञ्चालन गरी १ हजार ७१५ जनालाई लाभान्वित गरियो। विद्यालय केन्द्रित १४ वटा कार्यक्रममा ६७५ विद्यार्थी सहभागी थिए। सुरक्षा व्यवस्था सुदृढ पार्न ५८१ मोबाइल गस्ती, ४७१ पैदल गस्ती र १ हजार ग्रामीण गस्ती सहित कुल ६ हजार १२० वटा विभिन्न सुरक्षा गस्ती सञ्चालन गरिएको थियो।
प्रहरीले सीमावर्ती क्षेत्रमा तस्करी नियन्त्रण, अपराध अनुसन्धान र समुदाय–प्रहरी साझेदारी कार्यक्रमलाई थप प्रभावकारी बनाउँदै जाने जनाएको छ।
