NM Khabar 24 May 2026
NM Khabar

हामीलाई पछ्याउनुहोस्

रवि लामिछानेको भारत भ्रमण: मोदीसँग भेटको सम्भावना, उच्च अधिकारीहरूसँग भेट निश्चित

राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछाने जेठ १८ गते भारत भ्रमणमा जाँदैछन्। भ्रमणका क्रममा भारतीय प्रधानमन्त्री नरेन्द्र मोदी, विदेशमन्त्री एस जयशंकर लगायतका उच्च अधिकारीहरूसँग भेट्ने सम्भावना छ। यो भ्रमण पार्टीगत भएकाले भाजपा अध्यक्षसँग पनि भेटवार्ता हुनेछ।
Bikram Magar
Bikram Magar
24 May 2026, 12:03 pm १ मिनेट पढाइ
आकार:
Share:

राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछाने जेठ १८ गते भारत भ्रमणमा जाने भएका छन्। यो भ्रमण भारतको विदेश मन्त्रालयको निमन्त्रणामा हुन लागेको हो।

जुन १-२ (जेठ १८-१९) मा तय भएको यस भ्रमणका क्रममा लामिछानेले भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीलाई भेट्ने प्रयास गर्नेछन्। यद्यपि, यो उच्चस्तरीय भेटघाट अहिलेसम्म निश्चित नभएको स्रोतले जनाएको छ।

भ्रमणका क्रममा लामिछानेसँग भारतीय विदेशमन्त्री एस जयशंकर, विदेश सचिव विक्रम मिश्री लगायतका उच्च अधिकारीहरूसँग भेटवार्ता निश्चित भएको रास्वपाका नेताहरूले बताएका छन्। यसका साथै, उनले भारतको सत्तारुढ दल भारतीय जनता पार्टी (भाजपा)का अध्यक्ष जेपी नड्डासँग पनि भेट्ने कार्यक्रम छ। भाजपा मुख्यालयमा उनको स्वागतको तयारी गरिएको छ।

यसअघि नेपाली कांग्रेसका शेरबहादुर देउवा र माओवादी केन्द्रका पुष्पकमल दाहाल प्रचण्डले पनि विदेश मन्त्रालयको निमन्त्रणामा भारत भ्रमण गर्दा भाजपा मुख्यालयको भ्रमण गरेका थिए।

प्रधानमन्त्री बालेन्द्र शाहको भारत भ्रमण अनिश्चित भइरहेका बेला लामिछानेको यो भ्रमणलाई विशेष चासोका साथ हेरिएको छ। निर्वाचनपछि दुई तिहाइ बहुमतसहित सरकारमा सहभागी भएको रास्वपाका सभापति लामिछानेको यो पहिलो भारत भ्रमण हुनेछ। यसअघि उनी दुई पटक गृहमन्त्री भइसके पनि भारत भ्रमणमा गएका थिएनन्।

यसअघि प्रधानमन्त्री शाहसँग भेट नहुने भएपछि भारतीय विदेश सचिवको नेपाल भ्रमण स्थगित भएको थियो। साथै, परराष्ट्रमन्त्री शीशीर खनालको भारत भ्रमण पनि स्थगित भएको थियो।

हालै भारत र चीनले लिपुलेक नाका हुँदै पुनः व्यापार थाल्ने घोषणा गरेपछि नेपालले दुवै देशलाई कूटनीतिक नोट पठाएर विरोध जनाएको थियो। बालेन सरकार बनेयता नेपाल-भारत सम्बन्धमा कुनै खास प्रगति हुन सकेको छैन।

Bikram Magar

Bikram Magar

संवाददाता · NM Khabar

विक्रम मगर NM खबरका अन्तर्राष्ट्रिय मामिला संवाददाता हुन्। कूटनीति, भूराजनीति र नेपालको परराष्ट्र सम्बन्धमा उनको विश्लेषणात्मक रिपोर्टिङले पाठकहरूलाई विश्व परिदृश्य बुझ्न सहयोग पुर्‍याउँछ। चीन र भारतसँगको नेपालको सम्बन्धमा उनी विशेष रुचि राख्छन्।

सम्बन्धित समाचार