रोल्पाको लुङ्ग्री गाउँपालिका–५ धैरेनीमा पहिरोले घर पुरिँदा ७२ वर्षीया अम्मी गुरुङको मृत्यु भएको छ। उनी घरमा सुतिरहेको अवस्थामा घरमाथिबाट खसेको पहिरोले घर पुरिँदा मृत भेटिएकी थिइन्। जिल्ला प्रहरी कार्यालय रोल्पाका प्रहरी निरीक्षक कृष्ण श्रेष्ठका अनुसार यो घटनासँगै रोल्पामा पाँच दिनमा पहिरोमा परी मृत्यु हुनेको संख्या १८ पुगेको छ।
यसअघि बुधबार थबाङ गाउँपालिकामा पहिरोले बस्ती नै बगाउँदा १३ जनाको मृत्यु भएको थियो। सोही घटनामा एक जना अझै बेपत्ता छन्। दुई जना घाइतेको बुटवलमा उपचार भइरहेको छ। बिहीबार सुनछहरी गाउँपालिका–२ फलबाङ र गिट्ठेमा पहिरोले घर पुरिँदा चार जनाको ज्यान गएको थियो। लगातारको वर्षाले जिल्लाका विभिन्न स्थानमा पहिरोको जोखिम बढेको छ।
