NM Khabar 15 August 2026
NM Khabar

हामीलाई पछ्याउनुहोस्

रोल्पा पहिरो: चारको मृत्यु, नौ बेपत्ता; प्युठानमा खोलाले बगाएका पाँच शव भेटिए

रोल्पाको थबाङमा गएरातिको पहिरोले चार जनाको ज्यान लिएको छ। १८ वर्षीया शान्ति पुन मगरसहित चार जनाको पहिचान खुलेको छ। पहिरोमा नौ जना बेपत्ता भएका छन्। प्युठानको खोला किनारमा पाँच शव भेटिएका छन्, जसको पहिचान हुन बाँकी छ।
Maya Thapa
Maya Thapa
13 August 2026, 4:32 pm १ मिनेट पढाइ
आकार:
रोल्पा पहिरो
Share:

रोल्पाको थबाङ गाउँपालिका ५ मा पहिरोले चार जनाको ज्यान लिएको छ। १८ वर्षीया शान्ति पुन मगर, ६० वर्षीय कमलबहादुर पुन मगर, ७५ वर्षीय दलबहादुर पुन मगर र ८० वर्षीया मनखना पुन मगरको मृत्यु भएको छ।

सोही पहिरोमा नौ जना बेपत्ता भएका छन्। बेपत्ता हुनेमा ३८ वर्षीया जुनकुमारी पुन मगर, ९ वर्षीय अशिम पुन मगर, ५ वर्षीय अशोक पुन मगर, ८० वर्षीय अजम्बर पुन मगर, ८० वर्षीय बलबहादुर पुन मगर, ६१ वर्षीय लिलबहादुर पुन मगर, ६६ वर्षीया मनि पुन मगर, ८५ वर्षीया हस्तकला रोका मगर र ३४ वर्षीय महेन्द्र घर्ती छन्।

गम्भीर घाइते २२ वर्षीय हिमाल पुन मगर र २५ वर्षीय संजय घर्ती मगरलाई थप उपचारका लागि बुटवल पठाइएको छ।

बिहीबार प्युठानको खोला किनारमा पाँच शव फेला परेका छन्। यी शव पहिरोले बगाएर ल्याएको हुन सक्ने रोल्पाका प्रमुख जिल्ला अधिकारी गंगाबहादुर क्षेत्रीले बताए। ‘शवहरु क्षतविक्षेत छन्,’ उनले भने, ‘आफन्तले सनाखत गर्नेछन्।’

प्युठान प्रहरी प्रमुख डिएसपी नरहरी अधिकारीले शवको तस्बिर रोल्पा पठाइएको र आफन्त आउने क्रममा रहेको जानकारी दिए। ‘सबै शव अस्पतालमा राखिएका छन्,’ उनले भने।

क्षेत्रीका अनुसार घटनास्थलमा सेना, प्रहरी, सशस्त्र प्रहरी र स्थानीयको टोलीले उद्धार तथा खोजी जारी राखेको छ। ‘पानी परिरहेको छ। उद्धार जारी छ,’ उनले भने।

Maya Thapa

Maya Thapa

संवाददाता · NM Khabar

माया थापा NM खबरकी फिचर लेखिका हुन्। मानवीय रुचिका कथाहरू, महिला सशक्तीकरण र बाल अधिकारका मुद्दाहरूमा उनको संवेदनशील रिपोर्टिङले पाठकको मन छुन्छ। समाजका उपेक्षित पाटाहरूलाई उजागर गर्नु उनको पत्रकारिताको मूल उद्देश्य हो।

सम्बन्धित समाचार