रोल्पाको सुनछहरी गाउँपालिका–१ सेरमस्थित दवाङ लेकमा पहिरोमा पुरिँदा दुई महिलाको मृत्यु भएको छ। ५१ वर्षीया असौजी घर्ती मगर र ३६ वर्षीया अमरा घर्ती मगरको ज्यान गएको हो।
शनिबार दिउँसो गाईबस्तु चराउन गएका उनीहरु पहिरोमा पुरिएका थिए। स्थानीयवासी र प्रहरीको संयुक्त प्रयासमा साँझ दुवैको शव निकालिएको जिल्ला प्रहरी कार्यालय रोल्पाले जनाएको छ।
घटनामा ६० वर्षीय कुले घर्ती मगर घाइते भएका छन्। उनको उद्धार गरी उपचारका लागि सेरम स्वास्थ्य चौकी पठाइएको जिल्ला प्रहरी कार्यालय रोल्पाका प्रमुख प्रहरी नायब उपरीक्षक (डीएसपी) पंचकुमार बाखुले जानकारी दिए।
पहिरोमा चारवटा बाख्रा र दुईवटा गाईसमेत पुरिएका थिए। ती चौपायालाई पनि पहिरोबाट बाहिर निकालिएको प्रहरीले जनाएको छ।
