गोवास्थित पण्डित जवाहरलाल नेहरु रंगशालामा भएको साफ च्याम्पियनसिप फुटबल प्रतियोगिताको सेमिफाइनलमा नेपाल बंगलादेशसँग २-१ गोलले पराजित भयो। यो हारसँगै नेपाल प्रतियोगिताको फाइनल पुग्नबाट बञ्चित भएको छ।
खेलको २३औं मिनेटमा गीता रानाले गोल गर्दै नेपाललाई अग्रता दिलाएकी थिइन्। दीपा शाहीको कर्नर किकमा गीताले डि बक्स एरियाबाट गोल गरेकी थिइन्।
नेपालको १-० गोलको अग्रता पहिलो हाफको अन्त्यतिर टिक्न सकेन। पहिलो हाफको अतिरिक्त समयमा बंगलादेशकी रितु पोर्ना चक्माले गोल गर्दै खेललाई १-१ को बराबरीमा ल्याइन्।
दोस्रो हाफको अतिरिक्त समयमा बंगलादेशकी सागुरिकाले निर्णायक गोल गर्दै बंगलादेशलाई २-१ को जित दिलाइन्। यसअघि सन् २०१६ मा नेपाल भारतसँग सेमिफाइनलमा पराजित भएको थियो।
