बंगलादेशले अन्तिम इन्जुरी समयमा गरेको गोलमा नेपाल साफ महिला च्याम्पियनसिपको सेमिफाइनलबाट २-१ ले पराजित भयो। भारतको गोवास्थित पण्डित जवाहरलाल नेहरू स्टेडियममा बुधबार भएको खेलमा नेपालले २३औं मिनेटमा गीता रानामार्फत अग्रता लिएको थियो।
पहिलो हाफको इन्जुरी समयमा रितु पोर्ना चक्माले बंगलादेशका लागि बराबरी गोल फर्काइन्। उनको कर्नर प्रहार सिधै गोलमा परिणत भएको थियो। खेलको अन्तिम इन्जुरी समयमा सागोरिकाले शामसुन्नाहरको क्रसमा गोल गर्दै बंगलादेशलाई २-१ को जित दिलाइन्।
नेपालले खेलमा अग्रता लिए पनि त्यसलाई जोगाउन सकेन। ३६औं मिनेटमा अग्रता दोब्बर गर्ने अवसर गुमाएको थियो। ६९औं मिनेटमा सरु लिम्बूको प्रहार क्रस बार नजिकैबाट बाहिरियो। कप्तान तथा गोलकिपर एन्जिला तुम्बाप्पो सुब्बाले ७९औं मिनेटमा उत्कृष्ट बचाउ गरेकी थिइन्।
यस हारसँगै साफ च्याम्पियनसिपको इतिहासमा नेपाल दोस्रोपटक फाइनलमा पुग्न सकेन। यसअघि टोली सन् २०१६ मा पनि फाइनल पुग्न असफल भएको थियो। पछिल्ला दुई संस्करणको च्याम्पियन बंगलादेश भने लगातार तेस्रो तथा समग्रमा चौथोपटक फाइनलमा पुगेको छ।
उपाधिका लागि बंगलादेशले आजै हुने आयोजक भारत र भुटानबीचको खेलको विजेतासँग प्रतिस्पर्धा गर्नेछ।
