भारतको गोवामा आठौं साफ महिला च्याम्पियनसिप फुटबल आजदेखि सुरु हुँदैछ। नेपाली टोलीले समूह ‘ए’ मा आफ्नो पहिलो खेलमा भुटानसँग प्रतिस्पर्धा गर्नेछ। यसपटक उपाधि जित्ने लक्ष्यसहित मैदान उत्रँदैछ नेपाल।
नेपाल र भुटानबीचको खेल गोवास्थित जवाहरलाल नेहरु स्टेडियममा नेपाली समयअनुसार दिउँसो ४:४५ बजे सुरु हुनेछ। प्रतियोगितामा ६ टोली सहभागी छन्। नेपाल समूह ‘ए’ मा भुटान र श्रीलंकासँगै छ। समूह ‘बी’ मा साविक विजेता बंगलादेश, आयोजक भारत र माल्दिभ्स छन्।
नेपालले जेठ १७ गते श्रीलंकासँग खेल्नेछ। सेमिफाइनल २० र फाइनल २३ गते हुनेछ।
सात संस्करणमध्ये ६ पटक फाइनल पुगेर पनि नेपाल उपविजेतामै सीमित भएको छ। २०२२ र २०२४ को फाइनलमा नेपाल बंगलादेशसँग पराजित भएको थियो।
मुख्य प्रशिक्षक नविन न्यौपाने र कप्तान एन्जिला तुम्बापो सुब्बाले टोली तयार रहेको बताएका छन्। कप्तान एन्जिलाले भुटानविरुद्धको खेलमा ध्यान केन्द्रित गर्ने बताएकी थिइन्।
सर्वाधिक गोलकर्ता सावित्रा भण्डारी ‘साम्बा’ र सबिना राना मगर टोलीमा छैनन्। युवा खेलाडीहरूमाथि नेपाली फरवार्ड लाइनको जिम्मेवारी रहनेछ।
तेस्रो पटक साफ च्याम्पियनसिपमा कप्तानी गरिरहेकी गोलकिपर एन्जिलाले अनुभवी र नयाँ खेलाडीको मिश्रण रहेको टोलीले राम्रो प्रदर्शन गर्ने विश्वास व्यक्त गरेकी छिन्।
आजै समूह ‘बी’ मा आयोजक भारतले माल्दिभ्ससँग खेल्नेछ।
