मुख्य सामग्रीमा जानुहोस्
Nmkhabar
EN

सालझण्डी-ढोरपाटन सडक: मन्त्री लम्सालद्वारा चालु आवभित्रै ठेक्का प्रक्रिया अघि बढाउने प्रतिबद्धता

सालझण्डी-सन्धिखर्क-ढोरपाटन सडकको कालोपत्र गर्न बाँकी खण्डको ठेक्का चालु आर्थिक वर्षभित्रै अघि बढाइने भएको छ। ठेकेदारले काम अलपत्र पारेमा सरकार कठोर प्रस्तुत हुने मन्त्री लम्सालले स्पष्ट पारे। सन्धिखर्क नगरपालिकाले अधुरो विमानस्थल, पार्किङ व्यवस्थापन र मुआब्जाका लागि बजेट माग गरेको छ।
Laxmi Bhattarai
वरिष्ठ संवाददाता
१ मिनेट पढाइ
आकार:
सालझण्डी-ढोरपाटन सडक
Share:
१७१

पूर्वाधार विकासमन्त्री सुनिल लम्सालले रणनीतिक महत्वको सालझण्डी-सन्धिखर्क-ढोरपाटन सडक निर्माणले अब गति लिने प्रतिबद्धता व्यक्त गरेका छन्।

आयोजनाको स्थलगत अनुगमनपछि अर्घाखाँचीको सन्धिखर्कमा पत्रकारहरूसँग कुरा गर्दै मन्त्री लम्सालले कालोपत्र गर्न बाँकी रहेका सबै सडकखण्डको ठेक्का प्रक्रिया चालु आर्थिक वर्षभित्रै सम्पन्न गरिने जानकारी दिए।

उनले ठेक्का लिएर काम अलपत्र पार्ने निर्माण व्यवसायीहरूमाथि सरकार कठोर प्रस्तुत हुने र ढिलासुस्ती सह्य नहुने स्पष्ट पारे।

१९७ किलोमिटर लामो यो सडकले हिमाल र तराईलाई जोड्ने मात्र नभई अर्घाखाँची, गुल्मी, पाल्पा र बागलुङका नागरिकको आवागमन, पर्यटन, कृषि र व्यापारमा ठूलो सहयोग पुग्ने मन्त्री लम्सालले बताए।

आर्थिक वर्ष २०६६/६७ मा सुरु भएको यस आयोजनामा आव २०८०/८१ सम्म १८ किलोमिटर मात्र कालोपत्र भएको थियो। त्यसपछि आव २०८१/८२ मा ४.५ किमी र आव २०८२/८३ मा २४ किमी गरी हालसम्म जम्मा ४६.५ किलोमिटर सडक कालोपत्र भएको आयोजना कार्यालयले जनाएको छ।

यसैबीच, सन्धिखर्क नगरपालिकाका नगरप्रमुख कृष्णप्रसाद श्रेष्ठले मन्त्री लम्साल र मन्त्रालयका सचिव गोपालप्रसाद सिग्देललाई ज्ञापनपत्र बुझाउँदै जिल्लाका महत्त्वपूर्ण पूर्वाधार आयोजनाका लागि पर्याप्त बजेटको माग गरेका छन्।

नगरप्रमुख श्रेष्ठले करिब ३० करोड रुपैयाँ खर्च भइसकेर पनि अधुरो रहेको अर्घा भगवती विमानस्थलको धावनमार्ग निर्माण, सन्धिखर्क बजारको पार्किङ व्यवस्थापन, गोरुसिङ्गे–सन्धिखर्क सडक विस्तार तथा सालझण्डी सडक खण्डमा पर्ने घर/भवनको मुआब्जा क्षतिपूर्तिका लागि बजेट सुनिश्चित गर्न आग्रह गरे।

साथै, ठेक्का रद्द भएको ढुङ्गेखोला-सालझण्डी खण्डमा तत्काल नयाँ टेन्डर प्रक्रिया सुरु गर्नसमेत उनले ध्यानाकर्षण गराए।

Laxmi Bhattarai

Laxmi Bhattarai

वरिष्ठ संवाददाता

संसद र सरकारी नीतिको क्षेत्रमा एक दशकभन्दा बढी अनुभव भएकी लक्ष्मी भट्टराई NM खबरकी वरिष्ठ संवाददाता हुन्। मन्त्रिपरिषद्का निर्णय, संसदीय बहस र प्रशासनिक मामिलाहरूमा उनको गहन विशेषज्ञता छ।

सम्बन्धित समाचार