स्यानिटरी प्याडमा लाग्दै आएको कर तत्काल खारेज गर्न सांसद पुरुषोत्तम यादवले सरकारसँग माग गरेका छन्।
मंगलबार प्रतिनिधि सभा बैठकमा सांसद यादवले सभामुखमार्फत सरकारको ध्यानाकर्षण गराए। महिनावारी महिलाको प्राकृतिक आवश्यकता हो, रहर होइन, उनले स्पष्ट पारे। सुरक्षित र स्वस्थ महिनावारी हरेक महिलाको मौलिक हक तथा सम्मानको विषय हो।
सांसद यादवले सरकारको दोहोरो मापदण्डमाथि प्रश्न उठाए। महिनावारीलाई राजस्वको स्रोत बनाउने राज्यले समानता र महिला सशक्तीकरणबारे बोल्ने नैतिक अधिकार राख्दैन। उनले यस्तो टिप्पणी गरे।
जनस्वास्थ्यमा प्रतिकूल असर पार्ने चुरोट, मदिरामा ‘सिन ट्याक्स’ बढाउन उनले सुझाव दिए। महिलाको स्वास्थ्यसँग प्रत्यक्ष जोडिएको स्यानिटरी प्याडमा कर लगाउनु राज्यको असंवेदनशीलता हो, उनले भने।
