साउदी अरबको पूर्वी प्रान्तस्थित शैबाह तेल क्षेत्रमा भएको ड्रोन आक्रमणमा एक नेपाली र एक प्यालेस्टिनी नागरिकको मृत्यु भएको छ। बुधबार बिहान भएको यस घटनामा एक पाकिस्तानी र एक भारतीय नागरिक घाइते भएका छन्।
साउदी ऊर्जा मन्त्रालयले जारी गरेको विज्ञप्तिअनुसार, शैबाह तेल क्षेत्रमा रहेको साउदी अराम्कोको परियोजनालाई लक्षित गरी ड्रोन आक्रमण गरिएको थियो। तेल प्रशोधन केन्द्रतर्फ आएको ड्रोनलाई साउदी हवाई प्रतिरक्षा प्रणालीले बीचमै रोकेको थियो।
आक्रमण प्रयासका क्रममा तेल क्षेत्रमा काम गर्ने ठेकेदार कम्पनीको एउटा सवारीसाधनमा आगलागी भयो। मन्त्रालयले आगलागी तेल प्रशोधन केन्द्रको परिधिबाहिर भएको र त्यसले तेल क्षेत्रको सञ्चालनमा कुनै असर नपारेको जनाएको छ।
यमनका हुथी विद्रोहीहरूले हालैका महिनाहरूमा साउदी अरबको भूभागभित्र मिसाइल र ड्रोन आक्रमण बढाएका छन्। सन् २०१९ को अगस्टमा हुथी विद्रोहीले शेबाहको तेल क्षेत्रमा १० ड्रोन प्रयोग गरी आक्रमण गरेको थियो।
मृत्यु भएका नेपालीको परिचय, ठेगाना र घटनाको विस्तृत विवरण साउदी ऊर्जा मन्त्रालयले सार्वजनिक गरेको छैन। हुथी विद्रोहीले यो आक्रमणको जिम्मेवारी लिएको बारेमा पनि कुनै जानकारी प्राप्त भएको छैन।
यसअघि: साउदी अरेबियामा ड्रोन आक्रमण: एक नेपाली नागरिकसहित दुईको मृत्यु
