सांसद स्मृति सेञ्चुरीले १७ वर्षीया बालिकालाई ३० हजार रुपैयाँको प्रलोभनमा पारी डिम्ब झिकिएको गम्भीर घटना संघीय संसदमा उठाएकी छन्। गत साउन १४ गते राधिका गोतामे, प्रासन अधिकारी र डाक्टर नूतन शर्माको समूहले बालिकाको डिम्ब निकालेको थियो।
बालिकालाई १० दिनसम्म हर्मोनल इन्जेक्सन दिइएको थियो। अल्ट्रासाउण्डमार्फत डिम्ब निकालिएपछि उनको स्वास्थ्यमा गम्भीर समस्या देखियो। बेहोस हुने, हिँडडुल गर्न नसक्ने, पेट र कम्मर दुख्ने तथा वान्ता हुने लक्षण देखिए।
त्रिवि शिक्षण अस्पतालमा उपचारका क्रममा चिकित्सकले डिम्ब निकालिएको पुष्टि गरे। पीडित पक्षले ललितपुर प्रहरीमा मानव बेचबिखन ऐनअन्तर्गत उजुरी दर्ता गरायो।
उजुरीपछि केही व्यक्ति पक्राउ परे पनि सामान्य धरौटीमा छुटेको सांसद सेञ्चुरीले बताइन्। आरोपितहरूले पीडित पक्षलाई धम्की दिइरहेको उनको आरोप छ। सेञ्चुरीले दोषीलाई तत्काल पक्राउ गरी कारबाही गर्न माग गरेकी छन्।
