नेकपा एमालेका महासचिव शंकर पोखरेलले प्रतिनिधिसभा बैठकमा सरकारमाथि उठेका प्रश्नहरूको प्रतिरक्षामा सभामुख स्वयं उत्रिनु उचित नभएको टिप्पणी गरेका छन्। उनले सामाजिक सञ्जाल फेसबुकमार्फत धारणा सार्वजनिक गर्दै सभामुखलाई तटस्थ रहन आग्रह गरेका हुन्।
महासचिव पोखरेलले संसदीय खेलका खेलाडी सांसदहरू नै भएको स्मरण गराउँदै सभामुखले रेफ्रीको भूमिकामा रहनुपर्नेमा मैदानको खेलाडी जस्तो बन्न नहुने संकेत गरे। सांसदहरूले सरकारको आलोचना गर्दा सभामुखले त्यसको प्रतिवाद र सरकारको प्रतिरक्षा गर्ने क्रम बढेको भन्दै उनले आपत्ति जनाएका हुन्।
पोखरेलले सभामुख सरकारको प्रतिरक्षामा मात्र नभई विपक्षी सांसदहरूसँग प्रत्यक्ष बहसमा समेत उत्रिने गरेकोमा असन्तुष्टि व्यक्त गरे। संसदीय मर्यादा अनुसार सभामुखले तटस्थ भूमिका निर्वाह गर्नुपर्ने उनको बुझाइ छ।
