NM Khabar 7 September 2026
NM Khabar

हामीलाई पछ्याउनुहोस्

राप्रपा महामन्त्री पाठक पार्टीबाट अलग, नेतृत्वमाथि पारदर्शिताको प्रश्न

राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)का महामन्त्री शरदराज पाठकले पार्टी सदस्यसहित सबै जिम्मेवारी त्यागेर पार्टी परित्याग गरेका छन्। करिब चार वर्षअघि रवीन्द्र मिश्रसँगै राप्रपा प्रवेश गरेका पाठकले नेतृत्वमाथि विचारधारा र व्यवहारबीचको विरोधाभास तथा पारदर्शिताको अभावको आरोप लगाएका छन्। उनले पार्टीभित्रको गुटगत स्वार्थ र आन्तरिक बेमेलले नयाँ पुस्तालाई आकर्षित गर्न नसकेको निष्कर्ष निकालेका छन्।
Arjun Basnet
Arjun Basnet
6 September 2026, 6:03 pm १ मिनेट पढाइ
आकार:
शरद पाठक राप्रपा
Share:

राप्रपा महामन्त्री पाठक पार्टीबाट अलग, नेतृत्वमाथि पारदर्शिताको प्रश्न

राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)का महामन्त्री शरदराज पाठकले पार्टीको महामन्त्रीसहित सबै जिम्मेवारी र पार्टी सदस्यसमेत परित्याग गर्दै राप्रपाबाट पूर्णरूपमा अलग भएको घोषणा गरेका छन्। पाठकले आइतबार प्रेस विज्ञप्ति जारी गर्दै आजकै मितिबाट राप्रपासँगको राजनीतिक सम्बन्ध अन्त्य गरेको जानकारी दिएका हुन्।

करिब चार वर्षअघि रवीन्द्र मिश्रसँगै राप्रपा प्रवेश गरेका पाठकले पार्टीलाई समयानुकूल पुनर्संरचना गर्दै सुशासनप्रति इमानदार दलका रूपमा रूपान्तरण गर्ने सहमतिसहित आफू आबद्ध भएको बताएका छन्। तर, आफूले अपेक्षा गरेको दिशामा ठोस र परिणाममुखी काम हुन नसकेको उनको भनाइ छ।

पाठकले पार्टीको विचारधारा र व्यवहारबीच चरम विरोधाभास रहेको उल्लेख गर्दै भ्रष्टाचारविरुद्ध कडा नारा दिने पार्टीभित्रै व्यवहारिक प्रतिबद्धता र पारदर्शिताको ठूलो अभाव रहेको आरोप लगाएका छन्। ‘भ्रष्टाचार गरेर खानु आमाको रगत खाएसरह हो’ भन्ने नारालाई पार्टीले मूल मन्त्रका रूपमा लिए पनि त्यसअनुरूपको व्यवहारिक प्रतिबद्धता पार्टीभित्र नरहेको उनको टिप्पणी छ।

उनले राप्रपाको केन्द्रीय नेतृत्व तहमा स्थापनाकालदेखिको आन्तरिक बेमेल र गुटगत स्वार्थका कारण हुने तिक्ततापूर्ण संघर्ष झनै बढेको बताएका छन्। यसका कारण नयाँ पुस्ताका इमानदार, सुशिक्षित र सचेत युवालाई पार्टीले आकर्षित गर्न नसकेको उनको निष्कर्ष छ।

आफू र आफूसँगै राप्रपामा जोडिएका अन्य साथीहरूले समेत पार्टीको विद्यमान अवस्थालाई परिवर्तन गर्न सक्ने सम्भावना नदेखेको उनले उल्लेख गरेका छन्। यद्यपि, यसमा आफ्नै कमजोरीसमेत हुन सक्ने पाठकले स्वीकार गरेका छन्।

पार्टी नेतृत्वप्रति असन्तुष्टि व्यक्त गरे पनि राप्रपाको विभिन्न तह, विशेषगरी तल्लो तहमा रहेका नेता तथा कार्यकर्ताको निष्ठा र प्रतिबद्धताको भने उनले प्रशंसा गरेका छन्। आफ्नो राजनीतिक यात्रामा सहयोग गर्ने सबैप्रति आभार व्यक्त गर्दै पाठकले आफ्नो अनुभव र विश्वासको पुँजीलाई आगामी दिनमा राष्ट्र, राष्ट्रियता, सुशासन र नागरिक हितमा समर्पित गर्ने बताएका छन्।

Arjun Basnet

Arjun Basnet

संवाददाता · NM Khabar

अर्जुन बस्नेत NM खबरका खोजमूलक पत्रकार हुन्। भ्रष्टाचार, सम्पत्ति विवरण र सरकारी जवाफदेहिताका विषयमा उनले महत्त्वपूर्ण अनुसन्धानमूलक रिपोर्टहरू प्रकाशित गरेका छन्। त्रिभुवन विश्वविद्यालयबाट राजनीति शास्त्रमा स्नातकोत्तर गरेका उनले वित्तीय अपराध र सार्वजनिक संस्थानको दुरुपयोगसम्बन्धी रिपोर्टिङमा विशेष दक्षता हासिल गरेका छन्।

सम्बन्धित समाचार