श्रीलंका सरकारले रसुवा बाढीपहिरो पीडितका लागि १० लाख अमेरिकी डलर (करिब १३ करोड ५० लाख रुपैयाँ) मानवीय सहायता उपलब्ध गराएको छ। मलेसियाली अटोमोबाइल कम्पनी प्रोटोनले २ लाख रिङ्गिट बराबरको ड्रोन सहयोग गरेको छ।
परराष्ट्र मन्त्रालयमा बुधबार आयोजित कार्यक्रममा नेपालका लागि श्रीलंकाली राजदूत रुवन्थी डेलपिटियाले परराष्ट्रमन्त्री शिशिर खनाललाई सहयोगको चेक हस्तान्तरण गरिन्। श्रीलंकाका राष्ट्रपति अनुरा कुमार दिसानायकेको निर्देशनमा यो सहयोग प्राप्त भएको हो।
प्रोटोन कम्पनीले रसुवाको भोटेकोशी बाढीबाट प्रभावितहरूको विपद् व्यवस्थापनमा सहयोग पुगोस् भन्ने उद्देश्यले ड्रोन सहयोग गरेको जनाएको छ। विपद्का बेला प्रभावित क्षेत्रको अवस्थाबारे जानकारी लिन तथा उद्धार र राहत कार्यमा ड्रोन उपयोगी हुनेछ।
