सुकुम्बासी व्यवस्थापनमा सरकार पूर्णतः असफल भएको नेकपा (एमाले) महासचिव शंकर पोखरेलले आरोप लगाएका छन्। उनले सुरक्षित राख्ने नाममा नागरिकलाई घरबारविहीन बनाइएको र उनीहरूको पीडाप्रति सरकार संवेदनशील नभएको बताए।
पोखरेलले सामाजिक सञ्जालमार्फत सरकारले बस्ती खाली गराउने नाममा नागरिकलाई विस्थापित गरेको र उनीहरूको पीडा हृदयविदारक भएको उल्लेख गरे। एकातिर बस्ती खाली गराउने र अर्कोतर्फ सरकारले स्थापना गरेका होल्डिङ सेन्टरसमेत व्यवस्थित गर्न नसक्दा त्यहाँ आश्रित नागरिकलाई गाँस र बासको समेत समस्या भएको उनको भनाइ छ।
“होल्डिङ सेन्टरमा आश्रित नागरिकलाई गाँस र पानीसमेत बन्द गरिनु अमानवीयताको पराकाष्ठा हो। सरकारले सुरक्षित भनेका होल्डिङ सेन्टर नै डुबानमा परेको समाचार आउनु झन् चिन्ताजनक विषय हो,” पोखरेलले भने।
उनले असुरक्षित तथा अनधिकृत क्षेत्रमा रहेका सुकुम्बासीलाई हटाउनुअघि उचित व्यवस्थापन र पुनर्स्थापना राज्यको पहिलो दायित्व भएको तर सरकार त्यस जिम्मेवारीबाट चुकेको आरोप लगाए। सुकुम्बासी बस्ती खाली गराउनुलाई मात्रै उपलब्धि ठान्नु उचित नहुने भन्दै उनले विस्थापित परिवारको अवस्था दिनप्रतिदिन जटिल बन्दै गएको बताए।
पोखरेलले सरकारले आफ्ना कमजोरी सच्याउँदै विस्थापित सुकुम्बासी तथा अव्यवस्थित बसोबासीको न्यायोचित व्यवस्थापनमा तत्काल ध्यान दिनुपर्ने माग गरे। नागरिकलाई त्रास र सास्ती दिएर होइन, सुरक्षित आवास र बाँच्न पाउने मौलिक अधिकारको सम्मान गरेर मात्रै कानुनी राज्यको मर्यादा कायम रहन सक्ने उनको धारणा छ।
यसैबीच, उज्यालो नेपाल पार्टीका अध्यक्ष कुलमान घिसिङले वर्तमान सरकार जनतामा विश्वास र आशा जगाउन असफल भएको टिप्पणी गरे। शनिबार काठमाडौंमा आयोजित पार्टी प्रवेश कार्यक्रममा उनले ‘जेनजी’ आन्दोलनपछि बनेको करिब दुईतिहाइ बहुमतको सरकारबाट जनताले ठूलो सामाजिक र आर्थिक परिवर्तनको आशा गरे पनि विश्वास जगाउन नसकेको बताए।
घिसिङले आमजनता, विशेष गरी गरिब र निमुखा वर्गमा निराशाको वातावरण बढ्दै गएको उल्लेख गरे। मुगुका गणेश नेपालीको आत्मदाह लामो मानसिक तनाव र प्रणालीगत असफलताको परिणाम भएको उनले बताए। उनले व्यक्तिगत र सरकारी दुवै तहमा नागरिकप्रतिको जिम्मेवारीको अभाव देखिएको टिप्पणी गरे। उज्यालो नेपाल पार्टीले धनी र गरिबबीचको खाडल कम गर्न ‘हरित क्रान्ति’लाई मुख्य आधार बनाएर जलविद्युत्, कृषि र पर्यटनजस्ता स्रोतको सदुपयोग गर्दै आर्थिक रूपान्तरण गर्ने लक्ष्य राखेको सुनाए।
पोखरेलले गणेश नेपालीको घटनाजस्तै अर्को अप्रिय घटना दोहोरिन नदिन सरकार समयमै संवेदनशील बन्नुपर्ने भन्दै सरकारको ध्यानाकर्षण गराए।
