NM Khabar 28 July 2026
NM Khabar

हामीलाई पछ्याउनुहोस्

सुनसरी घटनाको राजनीतिकरण रोक्न रास्वपाको आग्रह, निष्पक्ष छानबिनको माग

राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेले सुनसरी घटनालाई राजनीतिकरण नगर्न आग्रह गर्दै निष्पक्ष छानबिनको माग गरेका छन्। घटनामा ज्यान गुमाउनेप्रति श्रद्धाञ्जली र घाइतेको शीघ्र स्वास्थ्य लाभको कामना गर्दै संयमता अपनाउन आह्वान गरिएको छ। नेकपा (संयुक्त) र जेन–जी अभियन्ताले पनि घटनाको छानबिन र दोषीलाई कारबाहीको माग गरेका छन्।
Laxmi Bhattarai
Laxmi Bhattarai
28 July 2026, 6:34 pm १ मिनेट पढाइ
आकार:
सुनसरी घटना रास्वपा
Share:

राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेले सुनसरीमा भएको हिंसात्मक घटनालाई कुनै पनि बहानामा राजनीतिकरण नगर्न सबै राजनीतिक दल तथा सम्बन्धित पक्षसँग आग्रह गरेका छन्। मंगलबार विज्ञप्ति जारी गर्दै उनले घटनाको स्वतन्त्र, निष्पक्ष र द्रुत छानबिन गरी दोषीलाई कारबाही गर्न तथा पीडित पक्षलाई उचित राहत, क्षतिपूर्ति र निःशुल्क उपचारको व्यवस्था गर्न सरकारसँग माग गरेका छन्।

लामिछानेले घटनामा ज्यान गुमाएकाप्रति श्रद्धाञ्जली अर्पण गर्दै शोकसन्तप्त परिवारजनप्रति समवेदना व्यक्त गरेका छन्। उनले घाइते भएका नागरिक तथा सुरक्षाकर्मीहरूको शीघ्र स्वास्थ्य लाभको कामना गरेका छन्। कुनै पनि समस्या, असन्तुष्टि वा विवादको समाधान हिंसा र मुठभेडबाट हुन नसक्ने उल्लेख गर्दै उनले नेपालको बहुलवादी संस्कृति, सामाजिक सद्भाव, सहिष्णुता र आपसी एकता कायम राख्न सबै पक्षलाई संयमता अपनाउन आग्रह गरेका छन्।

साम्प्रदायिक वा सामाजिक सद्भावमा खलल पुग्ने गतिविधि नगर्न तथा अफवाह र उत्तेजनाबाट टाढा रहन उनले सबै नागरिक, धार्मिक तथा सामाजिक अगुवा र सरोकारवालालाई अपिल गरेका छन्। रास्वपा शान्ति, न्याय र सामाजिक सद्भावको पक्षमा दृढ रहेको र संवादमार्फत समस्याको शान्तिपूर्ण समाधान खोज्न पार्टीले सकारात्मक भूमिका खेल्ने प्रतिबद्धता जनाएको छ।

यसैबीच, नेपाल कम्युनिस्ट पार्टी (संयुक्त) ले पनि सुनसरीको कप्तानगञ्जमा भएको घटनाप्रति स्तब्ध भएको जनाएको छ। पार्टीको प्रचार विभाग प्रमुख दामोदर अर्यालले जारी गरेको विज्ञप्तिमा शान्ति सुरक्षाको वैकल्पिक उपाय अवलम्बन नगरी सिधै र बर्बर तरिकाले नागरिकमाथि गोली हान्ने तरिकाको भर्त्सना गरिएको छ। नेकपा संयुक्तले घटनामा दोषी उपर छानबिन गरी अविलम्ब कारबाही गर्न सरकारसँग माग गरेको छ।

नेकपा संयुक्तले सुनसरी लगायत अन्य जिल्लामा धार्मिक उत्तेजना फैलिन सक्ने सम्भावना रहेकाले शान्ति र सामाजिक सद्भाव कायम राख्न सबैमा आह्वान गरेको छ। जेन–जी अभियन्ताहरूले पनि सुनसरी घटनाको निष्पक्ष छानबिन गरेर दोषीलाई कारबाही गर्न माग गरेका छन्।

Laxmi Bhattarai

Laxmi Bhattarai

संवाददाता · NM Khabar

संसद र सरकारी नीतिको क्षेत्रमा एक दशकभन्दा बढी अनुभव भएकी लक्ष्मी भट्टराई NM खबरकी वरिष्ठ संवाददाता हुन्। मन्त्रिपरिषद्का निर्णय, संसदीय बहस र प्रशासनिक मामिलाहरूमा उनको गहन विशेषज्ञता छ।

सम्बन्धित समाचार