सुनसरी-सिरहा घटना: गोली चलाउने प्रहरीमाथि कारबाही सिफारिस
सुनसरीको कप्तानगञ्ज र सिरहाको गोलबजारमा प्रहरीको गोली लागेर चार युवाको मृत्यु भएको घटनाको छानबिन प्रतिवेदनले गोली चलाउने प्रहरीमाथि कारबाहीको सिफारिस गरेको छ। दुवै घटनामा बाहिरी घुसपैठ नभएको र सुरक्षाकर्मीले चलाएको गोलीबाटै मृत्यु भएको निष्कर्ष प्रतिवेदनले निकालेको छ।
१० साउनमा सुनसरीको कप्तानगञ्जमा डिजे बजाएको विषयमा विवाद हुँदा प्रहरीले गोली चलाउँदा तीन युवाको ज्यान गएको थियो। ओमप्रकाश मेहता, जयप्रकाश मेहता र रवीन्द्र मेहताको प्रहरीको गोली लागेर मृत्यु भएको थियो। इलाका प्रहरी कार्यालय देवानगञ्जका इन्स्पेक्टर राकेश राई र प्रहरी चौकी कप्तानगञ्जका असई प्रकाशकुमार श्रेष्ठ घटनास्थलमा खटिएका थिए।
त्यस्तै, सिरहाको गोलबजारमा पनि प्रहरीले चलाएको गोलीबाट गणेश यादवको मृत्यु भएको छानबिन समितिले निष्कर्ष निकालेको छ। सो घटनामा प्रहरीले ९ राउन्ड गोली चलाएको थियो, जसमध्ये पेस्तोलबाट चलेको एक गोलीले गणेश यादवको ज्यान गएको थियो। प्रहरी इन्स्पेक्टर सुदन केसी गोलबजार घटनामा खटिएका थिए।
गृह मन्त्रालयका सहसचिव भूपेन्द्र थापाको नेतृत्वमा सुनसरी घटना र सहसचिव पुष्पराज शाहीको नेतृत्वमा सिरहा घटनाको छानबिन भएको थियो। दुवै समितिले आजै आफ्नो प्रतिवेदन बुझाएका हुन्।
प्रतिवेदनले आगामी दिनमा यस्ता घटना दोहोरिन नदिनका लागि भिड नियन्त्रणमा खटिने सुरक्षाकर्मीले गैरघातक हतियार प्रयोग गर्नुपर्ने, रबरको गोली चलाउनुपर्ने र बडीवर्न क्यामेरा लगाउनुपर्ने जस्ता सुझाव पनि दिएको छ। साथै, भिड नियन्त्रणको क्रममा भिडियो र फोटो खिच्नुपर्ने, विधि विज्ञान प्रयोगशालालाई सुदृढीकरण गर्नुपर्ने र तालिम तथा स्रोतसाधनयुक्त हुनुपर्ने सुझाव पनि समेटिएको छ। मन्त्रालयले प्रतिवेदन अध्ययनपछि कारबाही प्रक्रिया अघि बढाउने जनाएको छ।
कारबाही प्रक्रिया अघि बढ्ने
गृह मन्त्रालयले दुवै छानबिन समितिको प्रतिवेदन अध्ययन गरिसकेपछि दोषी प्रहरी कर्मचारीहरूमाथि तत्काल कारबाही प्रक्रिया अघि बढाउने जनाएको छ। प्रतिवेदनमा उल्लेख गरिएका सुरक्षाकर्मीहरूको पहिचान गरी उनीहरूमाथि विभागीय कारबाही वा फौजदारी अभियोग लगाउने निर्णय मन्त्रालयले गर्नेछ।
