NM Khabar 28 July 2026
NM Khabar

हामीलाई पछ्याउनुहोस्

सुनसरी घटनाबारे प्रधानमन्त्री कार्यालयको गम्भीर ध्यानाकर्षण: शान्ति र सद्भाव कायम राख्न अपिल

सुनसरीको देवानगन्जमा साउन १० गते भएको घटनाप्रति प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयले गम्भीर ध्यानाकर्षण जनाएको छ। घाइतेहरूको निःशुल्क उपचारको व्यवस्था मिलाइएको छ र घटनाको सत्यतथ्य छानबिनका लागि समिति गठन गरिएको छ। सरकारले धार्मिक सहिष्णुता, एकता र सद्भावमा खलल पुग्ने गतिविधि नगर्न आग्रह गरेको छ।
Laxmi Bhattarai
Laxmi Bhattarai
28 July 2026, 8:32 pm १ मिनेट पढाइ
आकार:
सुनसरी घटना
Share:

सुनसरीको देवानगन्ज गाउँपालिका वडा नम्बर ३ कसानगन्जमा साउन १० गते भएको घटना र त्यसपछि पूर्वी नेपालका केही जिल्लामा उत्पन्न परिस्थितिप्रति प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयले गम्भीर ध्यानाकर्षण भएको जनाएको छ।

प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयले घटनामा घाइते भएकाहरूको निःशुल्क उपचारको प्रबन्ध मिलाइएको स्पष्ट पारेको छ। गृह मन्त्रालयले घटनाको सत्यतथ्य छानबिन गरी आगामी दिनमा यस्ता घटना दोहोरिन नदिन अपनाउनुपर्ने उपायसहित सात दिनभित्र प्रतिवेदन बुझाउन छानबिन समिति गठन गरिसकेको छ। समितिले काम सुरु गरिसकेको छ।

पीडित पक्षलाई उचित क्षतिपूर्ति र दोषीलाई कडा कानुनी कारबाही गर्न सरकार प्रतिबद्ध रहेको उल्लेख छ। सरकारले कुनै पनि समस्या वा विवादको समाधान हिंसा र मुठभेडबाट नहुने स्पष्ट पारेको छ। नेपाली समाजले सदियौँदेखि कायम राखेको धार्मिक सहिष्णुता, एकता र सद्भावमा खलल पुग्ने गतिविधिमा नलाग्न, भ्रामक सूचना नफैलाउन र उच्च संयमता अपनाउन सरकारले सबै पक्षलाई आग्रह गरेको छ।

मुलुकमा शान्ति, सुव्यवस्था र सद्भाव जोगाउन सबै राजनीतिक दल, नागरिक समाज, धार्मिक संस्था, सञ्चार माध्यम र आम नागरिकलाई प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयले आह्वान गरेको छ।

यसैबीच, कोसीका मुख्यमन्त्री हिक्मतकुमार कार्कीले साउन १० गतेको घटनापछि विकसित परिस्थितिले नेपाली समाजमा सदियौँदेखि कायम धार्मिक, सांस्कृतिक तथा सामाजिक सद्भावमा खलल पुग्न सक्ने भन्दै चिन्ता व्यक्त गरेका छन्। उनले स्थितिलाई साम्य पार्न र शान्ति व्यवस्था कायम गर्न सम्पूर्ण राजनीतिक दल, नागरिक समाज, जनप्रतिनिधि, सरकारी कर्मचारी तथा सुरक्षा निकायहरूलाई संयमित भएर अगाडि बढ्न अपिल गरेका छन्।

यता, धनुषा जिल्ला प्रशासन कार्यालयमा मंगलबार बसेको सर्वदलीय तथा सर्वपक्षीय सद्भाव बैठकले जिल्लाभित्र शान्ति–सुव्यवस्था बिग्रिन नदिन हिंसा, तोडफोड, आगजनी तथा सार्वजनिक र निजी सम्पत्तिमा क्षति पुर्‍याउने गतिविधिप्रति शून्य सहनशीलताको नीति अपनाउने निर्णय गरेको छ। बैठकले फेसबुक, टिकटकलगायत सामाजिक सञ्जालमार्फत धार्मिक विद्वेष, घृणा र साम्प्रदायिक तनाव फैलाउने सामग्रीको निगरानी बढाउने तथा यस्ता गतिविधि नियन्त्रण गर्न सम्बन्धित निकायले समन्वयात्मक रूपमा काम गर्ने पनि निर्णय गरेको छ।

Laxmi Bhattarai

Laxmi Bhattarai

संवाददाता · NM Khabar

संसद र सरकारी नीतिको क्षेत्रमा एक दशकभन्दा बढी अनुभव भएकी लक्ष्मी भट्टराई NM खबरकी वरिष्ठ संवाददाता हुन्। मन्त्रिपरिषद्का निर्णय, संसदीय बहस र प्रशासनिक मामिलाहरूमा उनको गहन विशेषज्ञता छ।

सम्बन्धित समाचार