पश्चिम नवलपरासीको सुस्ता क्षेत्रमा भारतीय सशस्त्र सीमा बल (एसएसबी)ले नेपाली भूमिमा निर्माणाधीन तटबन्ध निर्माणमा अवरोध पुर्याएको छ। प्रधानमन्त्री बालेन्द्र शाहको भारतसँगको सीमा विवाद सम्बन्धी अभिव्यक्तिको भोलिपल्ट नारायणी नदी किनारमा भइरहेको तटबन्ध निर्माण रोक्न एसएसबीका ४० देखि ५० जना सदस्य नेपाली भूमिमा प्रवेश गरी दबाब दिएको स्थानीय जनप्रतिनिधिहरूले बताएका छन्।
सुस्ता गाउँपालिका-५ मा नदी कटान नियन्त्रण र बस्ती संरक्षणका लागि तटबन्ध निर्माण भइरहेको थियो। तर, आइतबार साँझ एसएसबीका सदस्यहरू निर्माणस्थलमा पुगेर काम रोक्न दबाब दिएको गाउँपालिका अध्यक्ष टेकनारायण उपाध्यायले बताए। उनले एसएसबीको दबाबपछि निर्माण कार्य प्रभावित भएको दाबी गरे।
यस घटनाले सुस्ता क्षेत्रमा पुनः सीमा सम्बन्धी तनाव बढाएको छ। सुस्ता नेपाल-भारत सीमा विवादको एक संवेदनशील क्षेत्र हो, जहाँ यसअघि पनि सीमा व्यवस्थापन, नदीको धार परिवर्तन र भूमि स्वामित्व जस्ता विषयमा विवादहरू हुँदै आएका छन्।
यस विषयमा भारतीय पक्षको आधिकारिक प्रतिक्रिया भने आइसकेको छैन। घटनाबारे सम्बन्धित सुरक्षा निकाय र प्रशासनले थप जानकारी संकलन गरिरहेको जनाइएको छ।
