पटक–पटक लापरबाही गर्ने ३१ चालकको लाइसेन्स निलम्बन गर्न ट्राफिक प्रहरीले सिफारिस गरेको छ।
आइतबारको पत्रकार सम्मेलनमा ट्राफिक प्रहरी कार्यालयले १५ देखि २० पटकसम्म कारबाहीमा परेका चालकहरूको लाइसेन्स निलम्बनका लागि यातायात कार्यालयमा सिफारिस गरेको जनायो।
काठमाडौं उपत्यका ट्राफिक प्रहरी कार्यालयका प्रमुख प्रहरी वरिष्ठ उपरीक्षक नवराज अधिकारीले यही महिनामात्रै ३१ चालकको लाइसेन्स निलम्बनका लागि सिफारिस गरिएको जानकारी दिए। अधिकारीका अनुसार, लापसे र मापसे गरी पटक–पटक लापरवाही गर्ने चालकहरूलाई यो कारबाहीले लक्षित गरेको छ।
उनले राइडर सेवाका मोटरसाइकलहरूमा एसओएस बटन क्यामरा अनिवार्य गर्ने प्रक्रिया अघि बढाइएको बताए। ट्राफिक प्रहरीको आचरण सुधार गर्दै चालक र सडक प्रयोगकर्ताका गुनासो सम्बोधन गर्न कार्यालय अग्रसर रहेको उनले जानकारी दिए।
प्रमुख अधिकारीले विभिन्न स्थानमा पार्किङले सडक अस्तव्यस्त बनाएपछि काठमाडौंको नयाँ बसपार्कबाट मात्रै लामो तथा मझौला दूरीका सवारी छुट्ने व्यवस्था मिलाएको जानकारी दिए। जेन-जी आन्दोलनमा क्षति पुगेका ३७ ट्राफिक कार्यालय मर्मत गरी ट्राफिक व्यवस्थापन र कारबाही सशक्त पारिएको उनले उल्लेख गरे।
मुलुकमा हुने सवारी दुर्घटनामा चालकको लापरबाही सवैभन्दा बढी कारण देखिएको अधिकारीले बताए। उपत्यकामा बढ्दो जनसंख्या र सवारी चापलाई व्यवस्थित गर्न ट्राफिक प्रहरी २४सै घण्टा परिचालन भइरहेको प्रहरी उपरीक्षक नरेशराज सुवेदीले जानकारी दिए।
ट्राफिक प्रहरी कार्यालयले आइतबार नै काठमाडौँ उपत्यकाका विभिन्न स्थानबाट चोरी भएका दुई पाङ्ग्रे सवारी साधन खोजतलास गरी सम्बन्धित धनीलाई हस्तान्तरण समेत गरेको छ।
