त्रिभुवन विश्वविद्यालयको परीक्षा चलिरहेकै बेला प्रश्नपत्र बाहिरिएको घटनामा प्रहरीले भक्तपुरबाट एक व्यक्ति पक्राउ गरेको छ। पक्राउ पर्नेमा भक्तपुर मध्यपुर थिमी–१ बस्ने कैलाली घोडाघोडी–११ का ३३ वर्षीय सन्दीप सिंह छन्।
केन्द्रीय अनुसन्धान ब्युरो (सीआईबी)ले सिंहलाई शिक्षा ऐन २०२८ अन्तर्गतको कसुरमा पक्राउ गरेको हो।
गत साउन ८ गते सञ्चालन भएको एमबिएस प्रथम सत्रको परीक्षाकै बेला प्रश्नपत्र सामाजिक सञ्जाल र ह्वाट्सएप ग्रुपमा सार्वजनिक भएको थियो।
‘एमबिएस फर्स्ट सेम सेक्सन सी’ नामक ह्वाट्सएप ग्रुपमा परीक्षा सुरु भएको पाँच मिनेटमै प्रश्नपत्र पठाइएको खुलेको छ। यस ग्रुपमा एक हजारभन्दा बढी सदस्य छन्। प्रश्नपत्रसँगै उत्तरको मोलमोलाइ र लेनदेनसमेत सुरु भएको पाइएको छ।
