NM Khabar 17 August 2026
NM Khabar

हामीलाई पछ्याउनुहोस्

विजयपुर खोलामा दुई बालक बेपत्ता: ८० मिटर गहिरो खोँचमा उद्धार जारी

पोखराको विजयपुर खोला तर्ने क्रममा दुई बालक बेपत्ता भएका छन्। उद्धारका लागि सशस्त्र प्रहरीको विशेष टोली ८० मिटर गहिरो खोँचमा 'रोप रेस्क्यु' विधि प्रयोग गरी खटिएको छ। जिल्ला प्रशासन कार्यालय कास्कीले मनसुनलाई मध्यनजर गर्दै नदी किनारमा नजान सर्वसाधारणलाई अपिल गरेको छ।
Sanjay Karki
Sanjay Karki
17 August 2026, 5:32 am १ मिनेट पढाइ
आकार:
विजयपुर खोला बालक बेपत्ता
Share:

पोखराको विजयपुर खोला तर्ने क्रममा शनिबार बेपत्ता भएका दुई बालकको अवस्था दोस्रो दिन पनि अज्ञात छ। सुरक्षा निकायले गोताखोरसहित ‘र्‍याप्लिङ क्लाइम्बिङ’ र ‘रोप रेस्क्यु’ विधि प्रयोग गरी खोजी तीव्र पारेको छ।

स्याङ्जा स्थायी घर भई पोखरा–१४ छिनेडाँडा बस्ने १४ वर्षीय निक्सन गुरुङ र चाउथे बस्ने १५ वर्षीय ओमन राई शनिबार दिउँसो १:२० बजे खोला तर्ने क्रममा बगेका थिए। Nmkhabarलाई स्रोतले पुष्टि गर्‍यो।

सशस्त्र प्रहरी बल नेपाल नं २४ गण कालिकाबाट सशस्त्र प्रहरी निरीक्षक साजन श्रेष्ठको कमान्डमा पाँच जना गोताखोरसहितको टोली परिचालन गरिएको छ। सहायक प्रमुख जिल्ला अधिकारी चित्राङ्गत बरालका अनुसार टोलीले करिब दुई किलोमिटर तलको पक्की पुलबाट खोजी गरेको छ।

सशस्त्र प्रहरी सहायक हवल्दार किरण सुवेदी र जवान देवराज खनाल डोरीको सहायताले पुलबाट करिब ८० मिटर तलको खोँचमा ओर्लिएर खोजीमा जुटेका छन्।

कास्कीका प्रमुख जिल्ला अधिकारी कुमानसिंह गुरुङ, नेपाली सेनाका गणपति प्रमुख सेनानी राजेन्द्र पुडासैनी, सशस्त्र प्रहरी उपरीक्षक बसन्तबहादुर सिंह, राष्ट्रिय अनुसन्धानका उपअनुसन्धान निर्देशक मोहनबहादुर कुँवर र प्रहरी नायब उपरीक्षक वीरेन्द्र पासवानसहितको टोलीले स्थलगत अनुगमन गरेको छ।

विजयपुर खोला सेती नदीमा मिसिने भएकाले खोजीको दायरा नदी किनारसम्म फराकिलो पारिएको छ। सहायक प्रजिअ बरालले तनहुँ, चितवन र नवलपरासीका प्रशासन र प्रहरीसँग समन्वय भइरहेको बताए।

जिल्ला प्रशासन कार्यालय कास्कीले मनसुन सक्रिय रहेकाले नदी किनारमा नजान, बालबालिकामाथि निगरानी राख्न र तटीय बस्तीका बासिन्दालाई सुरक्षित स्थानमा सर्न अपिल गरेको छ।

Sanjay Karki

Sanjay Karki

संवाददाता · NM Khabar

सञ्जय कार्की NM खबरको ब्रेकिङ न्युज डेस्कका संवाददाता हुन्। प्राकृतिक प्रकोप, दुर्घटना र द्रुत गतिका समाचारहरूमा उनको छिटो र सटीक रिपोर्टिङ उल्लेखनीय छ। मौसम परिवर्तन र विपद् व्यवस्थापनसम्बन्धी रिपोर्टिङमा उनको विशेष रुचि छ।

सम्बन्धित समाचार