NM Khabar 28 May 2026
NM Khabar

हामीलाई पछ्याउनुहोस्

श्रीमान् खोज्दा रुसमा श्रीमतीको पनि मृत्यु, तीन सन्तानको बिचल्ली

गरिबीले रुस पुगेका श्रीमान् ज्ञानबहादुर थापामगर सम्पर्कविहीन भएपछि खोजीमा गएकी श्रीमती इन्दिरा थापामगरको हृदयघातबाट निधन भएको छ। तीन सन्तानको बिचल्ली छ भने आर्थिक अभावले शव नेपाल ल्याउन समस्या भएको छ।
Maya Thapa
Maya Thapa
28 May 2026, 9:02 pm १ मिनेट पढाइ
आकार:
रुसमा नेपालीको मृत्यु
Share:

गरिबीबाट परिवारलाई उकास्ने सपना बोकेर रुस पुगेका बर्दियाका ज्ञानबहादुर थापामगर सम्पर्कविहीन भए। उनको खोजीमा गएकी श्रीमती इन्दिरा थापामगरको पनि हृदयघातबाट उतै निधन भयो। यो विपत्तिले तीन सन्तानसहित आफन्तजनलाई बज्रपात पारेको छ।

बर्दियाको बाँसगढी नगरपालिका–४ का ४३ वर्षीय ज्ञानबहादुर सुरुमा दुबई जाने तयारीमा थिए। एजेन्टको प्रलोभनमा उनी रुस पुगे। रुसमा युक्रेन युद्धसँग जोडिएको क्षेत्रमा पुगेर मारिएको खबरले इन्दिरालाई रुस तान्नुपर्‍यो।

श्रीमान्‌को अवस्था बुझ्न र परिवारको भविष्य जोगाउने आशामा पोखराको बाटुलेचौरमा तीन सन्तानसहित मजदुरी गर्दै आएकी ४० वर्षीया इन्दिरा लामो समयसम्म श्रीमान्‌को खबर नआएपछि रुस पुगिन्।

सम्पर्कविहीन श्रीमान्‌को निधन भएको थाहा पाएर अन्तिम संस्कारको प्रक्रिया सकेर नेपाल फर्कने तयारीमा रहँदा इन्दिरालाई एक्कासी हृदयाघात भयो। रुसस्थित नेपालीहरूको सहयोगमा मस्कोको सिष्टी क्लिनिकल अस्पतालमा उपचारका लागि भर्ना गरिए पनि वैशाख ३१ गते उनको निधन भयो।

इन्दिराका बुवा चिरन कार्कीका अनुसार शव परीक्षण रिपोर्ट आउन सकेको छैन। आर्थिक अभावले इन्दिराको शव नेपाल ल्याउन कठिनाइ भएको छ। छोरी फागुन ४ गते श्रीमान्‌को खोजी गर्न रुसका लागि पोखराबाट काठमाडौँतर्फ लागेकी थिइन्।

परिवार अहिले मामाघरमा आश्रय लिएर बसेको छ। आठ वर्षीय कान्छा छोरा सौरव थापामगर कक्षा ३ मा पढ्छन्। मुटुको समस्या भएका कारण सौरवको नियमित उपचार आवश्यक छ। आर्थिक अभावले उपचार रोकिएको छ। आमाको निधनको खबर थाहा नपाए पनि सौरव बाटो हेर्ने, कम बोल्ने, मलिन र एकोहोरो बन्दै गएको हजुरबुबा कार्कीले बताए।

सौरवका ठूलो दाइ २४ वर्षीय निरज थापामगरले बुवाको निधनको पुष्टि भएपछि कुशको शव बनाएर दाहसंस्कार गरेको बताए। बुवाको किरिया गरेको एक वर्ष नपुग्दै आमाको पनि निधन भएकोमा उनी भावविह्ल छन्।

यो परिवारको पीडा जोखिमपूर्ण वैदेशिक रोजगारीको कठोर यथार्थ हो। गरिबी, बेरोजगारी र दलालहरूको जालोले नेपाली युवालाई युद्धग्रस्त भूमिसम्म धकेलिरहेको छ। निर्दोष बालबालिकाले ठूलो मूल्य चुकाइरहेका छन्।

इन्दिराका माइती कान्छीआमा दिलमाया कार्कीका अनुसार इन्दिराले रुसमा एउटै समस्या भएका १२ जना नेपाली महिलासँग एउटै कोठामा बसेको र घर फर्किन पाए परिवारलाई भेट्ने आस गरेको बताएकी थिइन्।

सहयोगीका रूपमा रुस पुगेका सुरज कार्कीलाई मस्को विमानस्थलमा सुरक्षाकर्मीले सोधपुछ गरी नेपाल फर्काइदिएपछि इन्दिरा एक्लै अलपत्र परेकी थिइन्।

दिलमाया कार्कीले बितेका दुवै जनाको क्षतिपूर्तिको लागि नेपाल सरकारले रुसी सरकारसँग पहल गर्नुपर्ने माग गरेकी छिन्।

Maya Thapa

Maya Thapa

संवाददाता · NM Khabar

माया थापा NM खबरकी फिचर लेखिका हुन्। मानवीय रुचिका कथाहरू, महिला सशक्तीकरण र बाल अधिकारका मुद्दाहरूमा उनको संवेदनशील रिपोर्टिङले पाठकको मन छुन्छ। समाजका उपेक्षित पाटाहरूलाई उजागर गर्नु उनको पत्रकारिताको मूल उद्देश्य हो।

सम्बन्धित समाचार