मध्य तथा पूर्वी प्रशान्त महासागरमा समुद्रको सतहको तापक्रममा हुने आवधिक वृद्धिसँग सम्बन्धित ‘अल निनो’का कारण आगामी जुनदेखि अगस्टसम्म विश्वभर ‘भयंकर’ गर्मी हुने चेतावनी संयुक्त राष्ट्रसंघ अन्तर्गतको विश्व मौसम विज्ञान संगठन (डब्लूएमओ) ले दिएको छ। यो मौसमी घटना नोभेम्बरसम्म जारी रहने सम्भावना छ।
डब्लूएमओकी महासचिव सेलेस्टे साउलोले तीव्र अल निनोको प्रभावका लागि तयार रहन आग्रह गरेकी छन्। यसले खडेरी, भारी वर्षा, जमिन र समुद्र दुवैमा लूको जोखिम बढाउनेछ। लामखुट्टेबाट सर्ने रोगहरूको प्रकोप तथा खाद्य र खानेपानीको आपूर्तिमा समेत कमी आउनेछ।
मौसम विज्ञानसम्बन्धी मोडेलहरूले अल निनोको तीव्रताबारे फरक–फरक अनुमान गरेकाले यसको शक्तिको पूर्ण यकिन हुन सकेको छैन। यद्यपि, अधिकारीहरूले पूर्वतयारीको आवश्यकतामा जोड दिएका छन्।
डब्लूएमओका अनुसार यो मौसमी ढाँचाले क्षेत्रीय जलवायुलाई प्रभावित गरी विश्वव्यापी तापक्रम वृद्धि गराउनेछ। दक्षिण अमेरिका, अमेरिकाको दक्षिणी क्षेत्र, अफ्रिकाको हर्न क्षेत्र र मध्य एसियाका केही भागमा वर्षा बढ्ने पूर्वानुमान छ। यसको विपरीत, अस्ट्रेलिया, मध्य अमेरिका, इन्डोनेसिया र दक्षिण एसियाका केही भागमा खडेरीको सम्भावना छ। मध्य तथा पूर्वी प्रशान्त क्षेत्रमा आँधीबेहरीको निर्माण पनि बढ्न सक्नेछ।
जलवायुजन्य असरहरूले कृषि उत्पादनमा दबाब सिर्जना गरी खाद्य सुरक्षामा चुनौती थप्ने साउलोको भनाइ छ। इरानमा जारी युद्धका कारण उत्पन्न भू–राजनीतिक तनाव र अल निनोको सम्भावित प्रभावले विश्वभर खाद्य पदार्थको मूल्य अझ महँगो हुने आकलन गरिएको छ।
नेपालको मौसम पूर्वानुमान महाशाखाले देशका कोसी, बागमती, गण्डकी, लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशका तराई भूभागमा तातो दिन हुने सम्भावना रहेको जनाएको छ। केही हिमाली र पहाडी भेगमा भने मेघगर्जन/चट्याङसहित वर्षा र हिमपातको सम्भावना छ।
