बैतडीका स्थानीय तहले जातीय विभेद झल्काउने गाउँका नाम परिवर्तन गर्ने अभियान थालेका छन्। पाटन नगरपालिका–५ को डिम्यौडा टोललाई ‘सिर्जना टोल’ नामकरण गरिएको छ। दलित समुदायको बसोबास रहेको उक्त टोललाई अपहेलित तवरले डिम्यौडा भनिन्थ्यो। वडाध्यक्ष फुनिसिंह बोहराका अनुसार, टोलका बासिन्दा कलाकौशलबाट सामग्री सिर्जना गर्ने भएकाले नयाँ नाम राखिएको हो।
पाटन नगरपालिकाका उपप्रमुख कमलसिंह बोहराले हालसम्म २२ वटा गाउँको नाम परिवर्तन गरिएको बताए। यसले स्थानीय बासिन्दालाई जातीय विभेदबाट मुक्त भई आत्मसम्मान महसुस गराएको छ। पाटन–६ का स्थानीय राजु भुलले वर्षौंपछि आफ्नो गाउँको नाम भन्न सहज भएको अनुभव सुनाए।
दोगडाकेदार गाउँपालिकाले पनि अपमानित नाम सच्याउने निर्णय कार्यान्वयनको चरणमा छ। गाउँपालिकाका प्रवक्ता दिनेशप्रसाद भट्टले स्थानीयसँग समन्वय गरी नाम परिवर्तनका लागि प्रस्ताव माग गरिएको बताए। यसै वर्षभित्र धेरै गाउँका नाम परिवर्तन गर्ने योजना छ।
