महोत्तरीको सम्सी गाउँपालिका १ पर्सा देवाडमा नवविवाहिता रंजिता मण्डलको शंकास्पद मृत्यु भएको छ। विवाह भएको ८३ दिन नपुग्दै २५ वर्षीया रंजिताको मृत्यु भएको हो। माइती पक्षले दाइजो नदिँदा छोरीको हत्या भएको गम्भीर आरोप लगाएका छन्।
प्रहरीका अनुसार मंगलबार साँझ रंजिताले पासो लगाएर आत्महत्याको प्रयास गरेको भन्दै श्रीमान रमेश मण्डलले उनलाई उपचारका लागि जानकी एकेडेमिक अस्पताल पुर्याएका थिए। चिकित्सकले उनलाई मृत घोषणा गरेका थिए।
तर, मृतक रंजिताकी आमा कौशिल्यादेवी मण्डलले घटनालाई आत्महत्या नभई योजनाबद्ध हत्या भएको दाबी गरेकी छन्। उनले केही दिनअघि छोरीसँग फोनमा कुरा गर्दा ससुराली पक्षले माइतीबाट भैंसी दाइजोमा ल्याउन दबाब दिएको बताएकी थिइन्।
माइती पक्षका अनुसार रंजिताले पहिले नै नगद १० लाख रुपैयाँ र सुनचाँदीका गहना दाइजो दिइसकेकी थिइन्। थप दाइजो माग्ने क्रममा ससुराली पक्षले कुटपिट गरी हत्या गरेको आरोप छ।
जिल्ला प्रहरी कार्यालय महोत्तरीका एसपी हेरम्ब शर्माले मृतकका श्रीमान रमेश मण्डललाई नियन्त्रणमा लिएर अनुसन्धान सुरु गरिएको बताएका छन्। पोस्टमार्टम रिपोर्ट आएपछि मृत्युको वास्तविक कारण खुल्ने उनले जानकारी दिए।
घटनापछि ससुराली पक्षका सदस्य सम्पर्कविहीन छन्। प्रहरीले शव पोस्टमार्टमका लागि प्रादेशिक अस्पताल जलेश्वर पठाएको छ। प्रहरीले घटनाको गम्भीरतापूर्वक अनुसन्धान गरिरहेको जनाएको छ।
