NM Khabar 24 May 2026
NM Khabar

हामीलाई पछ्याउनुहोस्

डोल्पाको ३८ लाखको एक्सरे मेसिन ६ वर्षदेखि थन्कियो, मुसाले काट्यो तार

डोल्पाको त्रिपुरासुन्दरी नगरपालिकाले ६ वर्षअघि खरिद गरेको ३८ लाखको एक्सरे मेसिन अझै सञ्चालनमा आउन सकेको छैन। मेसिन जडान नै नगरी प्रयोगविहीन हुँदा तारहरू मुसाले काटेका छन् र खिया लागेको छ। लाखौं खर्च गर्दा पनि स्थानीयले सामान्य एक्सरे सेवा पाउन सदरमुकाम जान बाध्य छन्।
Arjun Basnet
Arjun Basnet
24 May 2026, 10:32 am १ मिनेट पढाइ
आकार:
Share:

डोल्पाको त्रिपुरासुन्दरी नगरपालिकाले ६ वर्षअघि खरिद गरेको ३८ लाख ९३ हजार ८ सय ५ रुपैयाँको एक्सरे मेसिन अझै सञ्चालनमा आउन सकेको छैन। कर्णाली प्रदेश सरकारले २०७७/०७८ मा पठाएको बजेटबाट त्रिपुराकोट स्वास्थ्य चौकीका लागि २०७७ चैतमा मेसिन खरिद गरिएको थियो। तर, मेसिन जडान नै नभई प्रयोगविहीन अवस्थामा छ।

नगरपालिकाले बोलपत्र आह्वान गरी २०७७ फागुन ६ गते सूचना प्रकाशित गर्‍यो। बोलपत्र प्रक्रियामा एभरेष्ट मेडिको फर्मा लमही दाङले ३४ लाख ५० हजारमा खरिद प्रक्रियाको जिम्मा लियो। फर्माले मेसिन खरिद गरी स्वास्थ्य चौकीमा जडान गरेको दाबी गरे पनि नगरपालिकाका एक कर्मचारीका अनुसार मेसिन जडान नगरी बत्तीको समस्या देखाएर स्वास्थ्य चौकीमा पुर्‍याइएको थियो। मेसिन खरिददेखि जडानसम्मको जिम्मेवारी फर्माको भए पनि उनीहरूले जडान कार्य पूरा गरेनन्।

मेसिन जडान नै नभएको अवस्थामा भुक्तानी रोक्नुपर्नेमा तत्कालीन प्रमुख प्रशासकीय अधिकृतले पूर्ण भुक्तानी दिएको स्रोतको दाबी छ। नियमतः मेसिन सञ्चालनमा आएपछि मात्र भुक्तानी प्रक्रिया पूरा हुनुपर्ने हो।

खरिद भएको केही समय विद्युत् अभावले मेसिन सञ्चालनमा आउन नसकेपछि नगरपालिकाले करिब १० लाख रुपैयाँ खर्चेर जेनेरेटरसमेत खरिद गर्‍यो। तर, त्यसपछि पनि मेसिन प्रयोगमा आउन सकेन।

नगरपालिकाको स्वास्थ्य शाखा प्रमुख थानेश्वर पनेरुका अनुसार लामो समय प्रयोगविहीन हुँदा मेसिनका तारहरू मुसाले काटिसकेका छन् र मेसिनमा खिया लागेर केही पाटपुर्जा बिग्रिएका छन्। नगरपालिकाले दुई पटक प्राविधिक झिकाएर मेसिन सञ्चालनको प्रयास गरे पनि सफल हुन सकेको छैन।

मेसिन सञ्चालनमा नआउँदा स्थानीय बासिन्दाहरूले सामान्य एक्सरे सेवा लिनका लागि पनि सदरमुकाम दुनैस्थित जिल्ला अस्पताल पुग्नुपर्ने बाध्यता छ। यसले स्थानीयको समय र पैसा दुवै खर्च भइरहेको छ। त्रिपुरासुन्दरीका स्थानीय हरिकुमारी सार्कीले भनिन्, ‘हामीले त एक्सरे मेसिन किनेर ल्याएको सुनेका थियौं, तर अहिलेसम्म एक्सरे गरेको थाहा छैन। प्रयोग नै नगर्ने भए किन किनेका हुन् कुन्नि।’

त्रिपुरासुन्दरी-०१ का वडाध्यक्ष रामचन्द्र कुलालले मेसिन सञ्चालनका लागि पटक-पटक पहल गर्दा पनि सुनुवाइ नभएको बताए। उनले कार्यपालिकामा कुरा उठाउँदा पनि आवश्यक चासो नदिएको गुनासो गरे।

जिल्ला अस्पतालका तत्कालीन चिकित्सक प्रमुख डाक्टर अखण्ड उपाध्यायले उक्त मेसिन पुरानो प्रविधिमा आधारित भएको बताए। उनका अनुसार अहिले ३० लाख रुपैयाँमै राम्रो डिजिटल एक्सरे मेसिन किन्न सकिन्छ। जिल्ला अस्पतालबाट प्राविधिक पठाएर सञ्चालनको प्रयास गरिए पनि सफल नभएको उनले जानकारी दिए।

लाखौं खर्च गरेर खरिद गरिएको यो मेसिन अहिले त्रिपुराकोट स्वास्थ्य चौकीमा कवाडी झैँ थन्किएको छ। यसको सञ्चालनमा चासो नदिँदा स्थानीयहरू सामान्य एक्सरेका लागि पनि हजारौं खर्च गर्न बाध्य छन्। अघिल्लो कार्यकालका जनप्रतिनिधिको पालामा खरिद भएको मेसिन दोस्रो कार्यकालको अन्त्य नजिकिँदा पनि सञ्चालनमा नआउनुमा सरोकारवालाले जनप्रतिनिधिको गैरजिम्मेवारीपन औंल्याएका छन्।

Arjun Basnet

Arjun Basnet

संवाददाता · NM Khabar

अर्जुन बस्नेत NM खबरका खोजमूलक पत्रकार हुन्। भ्रष्टाचार, सम्पत्ति विवरण र सरकारी जवाफदेहिताका विषयमा उनले महत्त्वपूर्ण अनुसन्धानमूलक रिपोर्टहरू प्रकाशित गरेका छन्। त्रिभुवन विश्वविद्यालयबाट राजनीति शास्त्रमा स्नातकोत्तर गरेका उनले वित्तीय अपराध र सार्वजनिक संस्थानको दुरुपयोगसम्बन्धी रिपोर्टिङमा विशेष दक्षता हासिल गरेका छन्।

सम्बन्धित समाचार