सर्लाहीको वाग्मती नदीमा पाँच युवा नदी तर्ने क्रममा बेपत्ता भएकामा दुई जनाको शव फेला परेको छ। तीन जना भने सकुशल रहेका छन्। घटनामा परिवारजनले स्थानीय प्रशासनमाथि समन्वय अभावको आरोप लगाएका छन्।
रौतहट र सिन्धुलीको सिमानामा पर्ने झपडी झोलुंगे पुल नजिकबाट शनिबार दिउँसो उनीहरू नदी तर्ने क्रममा बेपत्ता भएका थिए। बेपत्तामध्ये लालबन्दी–९ का २० वर्षीय गणेश महतो र १८ वर्षीय रोहित महतोको शव आइतबार वाग्मती नगरपालिका–११ स्थित पुलनजिकै फेला परेको छ।
प्रहरीका अनुसार पाँच जना युवा नदी पार गर्ने क्रममा तीन जना पौडी खेलेर रौतहटको नुनथरतर्फ निस्कन सफल भएका थिए। तर गणेश र रोहित नदीमा बेपत्ता भएका हुन्।
बागमती नदीको उक्त क्षेत्रमा हरेक वर्ष नुहाउने र पौडी खेल्ने क्रममा दुर्घटना हुने गरेको छ। जोखिमपूर्ण क्षेत्र भएपनि प्रभावकारी सुरक्षा व्यवस्था नहुँदा यस्ता घटना दोहोरिने गरेका छन्।
बेपत्ता युवकका परिवारजनले खोजी कार्यमा स्थानीय प्रशासनबीच समन्वय अभाव भएको आरोप लगाएका छन्। उनीहरूले तत्काल गोताखोरसहितको टोली परिचालन हुनुपर्नेमा सम्बन्धित निकायले एकअर्कालाई जिम्मेवारी पन्छाउने काम गरिरहेको गुनासो गरेका छन्।
