बारा । हावाहुरीले बाराको जीतपुरसिमरा, निजगढ र पर्सागढी नगरपालिकाका विभिन्न क्षेत्रमा चार दिनदेखि विद्युत् सेवा ठप्प पारेको छ । जेठ ९ र ११ गते आएको हावाहुरीले जनजीवन कष्टकर बनाएको छ ।
जीतपुरसिमरा उपमहानगरपालिकाका वडा नं. १, २, ७, ११, १४, १५, २१ र २२, निजगढ नगरपालिकाका वडा नं. १० र १३ तथा पर्सागढी नगरपालिकाका वडा नं. ३ र ४ मा विद्युत् सेवा अवरुद्ध भएको हो । चर्को घाम र अत्यधिक गर्मीमा बस्नै कठिन भएको स्थानीयवासीको गुनासो छ ।
जीतपुरसिमरा– १५ का शिवचन्द्र थारुले तीन दिनअघि गाउँमा पोल ढलेर विद्युत् अवरुद्ध भए पनि मर्मत नभएको बताए । ‘लाइन नहुँदा गर्मीले बस्नै सकिएको छैन,’ थारुले भने, ‘मोबाइल चार्ज गर्नसमेत समस्या भएको छ । कहिले बनाउने हो, थाहा छैन ।’
जीतपुरसिमरा– १५ की जितनदेवी राउतको घरमाथि सोमबारको हावाहुरीले विद्युत् पोल ढालेको थियो । घरमाथि पोल ढलेपछि उनी त्रासमा बस्न बाध्य छिन् । ‘वडा कार्यालयमा खबर गर्यौं । आज भोलि भन्दै टारिरहेका छन्,’ जितनदेवीले भनिन्, ‘लाइन नहुँदा बच्चाहरूले पढ्न पाएका छैनन्, गर्मीले राति सुत्न सकिँदैन । विदेशमा रहेको छोरासँग मोबाइल बन्द भएकाले कुरा गर्न पनि पाएका छैनौं ।’
चर्को घाम र अत्यधिक गर्मीले दिनभर खेतमा काम गर्ने किसान रातभर सुत्न नसकेको स्थानीयको भनाइ छ । बालबालिकाले विद्यालयको गृहकार्य गर्न पाएका छैनन् । ज्येष्ठ नागरिकलाई थप समस्या भएको छ ।
जीतपुरसिमरा– १३ का गोविन्द चौधरीले पटक–पटक ताकेता गर्दा पनि विद्युत् प्राधिकरणले सुनुवाइ नगरेको आरोप लगाए । ‘बत्ती नहुँदा मोबाइल चार्ज गर्न अर्को गाउँ पुग्नुपरेको छ,’ चौधरीले भने, ‘शहर बजारमा बिग्रिए तत्काल मर्मत हुन्छ, तर गाउँमा कर्मचारी र हाकिमहरूले वास्ता गर्दैनन् ।’
नेपाल विद्युत् प्राधिकरण सिमरा वितरण केन्द्रका प्रमुख इन्जिनियर माधव महतले हावाहुरीले ११ केभी प्रसारण लाइनका ५० वटा पोल ढलेको र पाँच वटा ट्रान्सफर्मरमा क्षति पुगेको जानकारी दिए । ‘क्षति भएका स्थानमा निर्माण व्यवसायीका तीन टोली परिचालन गरेर काम गरिरहेका छौं,’ प्रमुख महतले भने, ‘हालसम्म करिब ६० प्रतिशत क्षेत्रमा मर्मत गरी विद्युत् सुचारु गरिएको छ । बाँकी स्थानमा पनि एक–दुई दिनभित्र काम सम्पन्न हुन्छ ।’
जेठ ९ र ११ गतेको हावाहुरीबाट करिब ७० लाख रुपैयाँ बराबरको विद्युतीय क्षति भएको छ । अमलेखगञ्ज क्षेत्रमा बढी क्षति भएकाले त्यहाँ विद्युत् सेवा पूर्ण रूपमा सुचारु हुन अझ केही दिन लाग्ने जनाइएको छ ।
