NM Khabar 29 May 2026
NM Khabar

हामीलाई पछ्याउनुहोस्

सुकुम्बासी बस्ती हटाउँदा राज्य क्रूर र अमानवीय: महामन्त्री पौडेलको गम्भीर आरोप

काँग्रेस महामन्त्री प्रदीप पौडेलले सुकुम्बासी बस्ती हटाउने क्रममा राज्य क्रूर र अमानवीय बनेको आरोप लगाएका छन्। पर्याप्त समय, विकल्प र मानवीय संवेदनशीलतालाई बेवास्ता गरी बल प्रयोग भएको उनको भनाइ छ। बस्ती हटाउने कार्यले बालबालिका, सुत्केरी महिला र वृद्धवृद्धामा गहिरो मानसिक चोट र तनाव सिर्जना गरेको पौडेलले बताए।
Laxmi Bhattarai
Laxmi Bhattarai
29 May 2026, 3:02 pm १ मिनेट पढाइ
आकार:
सुकुम्बासी बस्ती हटाउदा
Share:

काठमाडौँ: नेपाली काँग्रेसका महामन्त्री प्रदीप पौडेलले सुकुम्बासी बस्ती हटाउने सन्दर्भमा राज्यको व्यवहार क्रूर र अमानवीय देखिएको टिप्पणी गरेका छन्। बस्ती खाली गराउनुपूर्व पर्याप्त समय र विकल्प नदिई बल प्रयोग गरिएको भन्दै उनले राज्यको कार्यशैलीप्रति आपत्ति जनाएका हुन्।

शुक्रबार पार्टी केन्द्रीय कार्यालय सानेपामा आयोजित ‘विस्थापनको व्याकुलताः शहरी सुकुम्बासीको स्वास्थ्य र मनोसामाजिक सङ्घर्षको विश्लेषण’ विषयक कार्यक्रममा बोल्दै महामन्त्री पौडेलले बस्ती छोड्नका लागि उचित समय र सहज वातावरण उपलब्ध गराउनुपर्नेमा राज्यले त्यसो नगरेको बताए।

उनका अनुसार बस्तीमा रहेका सबै व्यक्ति जग्गा हडप्ने नियतले मात्र नबसेको र त्यहाँ राज्यकै परिभाषाभित्र पर्ने वास्तविक सुकुम्बासीहरू समेत रहेका थिए। बस्ती हटाउने क्रममा मानवीय संवेदनशीलतालाई पूर्णतः बेवास्ता गरिएको महामन्त्री पौडेलको आरोप छ।

उनले विद्यालय जाने बालबालिका, सुत्केरी महिला र नियमित औषधि सेवन गर्ने ८० वर्षीय वृद्धवृद्धाको अवस्थाप्रति राज्य अनुदार बनेको बताए।

पौडेलले भने, ‘वास्तविक सुकुम्बासी र अन्यलाई छुट्याएर व्यवस्थापन र समय सीमा तोकिनुपर्थ्यो तर राज्य पूर्णतः चुकेको देखिन्छ। मानवीय पक्षबाट राज्य असाध्यै क्रूर प्रस्तुत भयो। घरको मूली मान्छेको दोष भए पनि बालबालिका र सुत्केरी आमाको यसमा के दोष थियो? यसले सबै उमेर समूहका मानिसमा गहिरो मानसिक चोट र तनाव सिर्जना गरेको छ।’

वैकल्पिक व्यवस्था र मनोवैज्ञानिक परामर्शविना गरिएको यस्तो कार्यले विस्थापित परिवारमा ठूलो मानसिक आघात परेको भन्दै उनले यस विषयमा नेपाली काँग्रेसले आफ्नो धारणा स्पष्ट रूपमा बाहिर ल्याएको बताए।

राज्यले जिम्मेवार ढंगले समस्याको समाधान खोज्नुको सट्टा हेलचेक्य्राइँ गरेको उनको ठहर छ।

Laxmi Bhattarai

Laxmi Bhattarai

संवाददाता · NM Khabar

संसद र सरकारी नीतिको क्षेत्रमा एक दशकभन्दा बढी अनुभव भएकी लक्ष्मी भट्टराई NM खबरकी वरिष्ठ संवाददाता हुन्। मन्त्रिपरिषद्का निर्णय, संसदीय बहस र प्रशासनिक मामिलाहरूमा उनको गहन विशेषज्ञता छ।

सम्बन्धित समाचार