आगामी आर्थिक वर्ष २०८३/८४ को बजेटले गण्डकी प्रदेशका महत्वपूर्ण पूर्वाधार र पर्यटन विकासका योजनालाई प्राथमिकता दिएको छ। अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले संघीय संसदमा प्रस्तुत गरेको बजेटले प्रदेशका ठूला आयोजनादेखि पर्यटकीय प्रवद्र्धनसम्मका कार्यक्रमलाई समेटेको छ।
पोखरा अन्तर्राष्ट्रिय विमानस्थलको सञ्चालन र व्यवस्थापनमा निजी क्षेत्रसँग सहकार्य गरिनेछ। १२ सय मेगावाटको बूढीगण्डकी जलाशययुक्त जलविद्युत् आयोजनालाई अधिकार सम्पन्न प्राधिकरणमार्फत अघि बढाइनेछ। बागलुङको उत्तरगङ्गा जलाशययुक्त जलविद्युत् आयोजनाका लागि वित्तीय व्यवस्थापन गरी ठेक्का प्रक्रिया सुरु गरिनेछ। म्याग्दीस्थित ४० मेगावाटको राहुघाट जलविद्युत् आयोजना यसै आर्थिक वर्षभित्र सम्पन्न गर्ने लक्ष्य छ। निर्माणाधीन तनहुँ जलाशययुक्त जलविद्युत् आयोजनाको कामलाई पनि तीव्रता दिइनेछ।
पर्यटन प्रवद्र्धनका लागि काठमाडौंलाई पोखरासँग जोड्ने पृथ्वी राजमार्गको मुग्लिन–दमौली–पोखरा खण्डलाई शीघ्र सम्पन्न गरिनेछ। सिद्धार्थ राजमार्गलाई अन्तर्राष्ट्रियस्तरमा स्तरोन्नति गरी कालीगण्डकी सभ्यताको उद्गम क्षेत्रलाई ‘गण्डकी चतुर्भुज’का रूपमा विकास गरिनेछ। त्रिवेणीधाम, देवघाट, रुरु क्षेत्र, कागबेनी, मुक्तिनाथ र दामोदर कुण्डलाई एकीकृत गर्दै ‘शालिग्राम पथ’ विकास गरिनेछ।
लुम्बिनी–मुक्तिनाथ धार्मिक–सांस्कृतिक मार्गमा आधारित ‘निर्वाण पथ’लाई प्रवद्र्धन गरिनेछ। यसले ध्यान, साधना, योग, बौद्ध दर्शन र हिमाली संस्कृतिलाई एकीकृत गर्नेछ। गोरखाको गोरखकाली रबर उद्योगको सम्पत्ति र दायित्व मूल्यांकन गरी निजी–सार्वजनिक साझेदारीमा लगानी व्यवस्थापनको काम आगामी वर्षभित्र पूरा गरिनेछ।
पोखरा उपत्यकामा सार्वजनिक सवारीसाधनलाई विद्युतीय बसले प्रतिस्थापन गर्न ‘इ–मोबिलिटी’ सेवा छिट्टै सुरु हुनेछ। सिद्धार्थ राजमार्गको बुटवल–पोखरा खण्डलाई द्रुतमार्गका रूपमा निर्माण सुरु गरिनेछ। पृथ्वी राजमार्गको आँबुखैरेनी–पोखरा खण्डको चार लेन सडक शीघ्र सम्पन्न गरिनेछ। आँबुखैरेनी–मुग्लिन सडक निर्माण सुरु गरिनेछ।
पर्या–पर्यटन पदमार्ग ‘डाँफे रुट’को विकास गरिनेछ। यसले खप्तड, रामारोशन, बढिमालिका, बूढीनन्दा, रारा, स्वर्गद्वारी हुँदै मुक्तिनाथलाई जोड्नेछ। अपि हिमाल, दोर्दी हिमाल, सिकलेस–कहुपुचे–मनाङ जोड्ने पदमार्ग पनि विकास गरिनेछ। कास्कीको लिपेनी–थुम्सीकोट–भाचोक–लम्तरी र ब्यास–छाब्दी बाराही–बन्दीपुर–छिम्केश्वरी–लाब्दी–देवघाट रुटमा साइकल ट्रेल निर्माण गरिनेछ।
पोखरा, काठमाडौं र विराटनगरमा तीन वर्षभित्र दुई हजार क्षमताको इन्डोर मल्टिपर्पोज स्टेडियम निर्माण गरिनेछ। पोखराको आयुर्वेद अस्पताललाई सञ्चालनमा ल्याई स्वास्थ्य पर्यटनसँग जोडिनेछ। मुस्ताङ र मनाङका ऐतिहासिक गुम्बा संरक्षणका लागि विशेष परियोजना सञ्चालन गरिनेछ। देवघाट–मुक्तिनाथ–तिलिचो जोड्ने प्रादेशिक पर्यटकीय करिडोर निर्माणको योजना पनि बजेटमा समावेश छ।
