जुम्लाका टंक गिरी २ लाख रुपैयाँ नगद सहित ‘राष्ट्रिय उत्कृष्ट कृषक पुरस्कार-२०८२’ बाट सम्मानित भएका छन्। राष्ट्रपति रामचन्द्र पौडेलले शुक्रबार आयोजित समारोहमा गिरीलाई नगद, मेडल, प्रमाणपत्र र दोसल्ला प्रदान गरे। कृषि, वन तथा वातावरण मन्त्रालयले व्यावसायिक स्याउ खेती विस्तार र रोजगारी सिर्जनामा उनको योगदानको कदर गरेको हो।
गुठीचौर गाउँपालिका–३ मा गिरीले स्थापना गरेको २२ हेक्टर क्षेत्रफलको बगैंचाबाट गत वर्ष १ करोड १० लाख ८५ हजार रुपैयाँ आम्दानी भएको थियो। यो बगैंचामा रेड, गाला र फुजी जातका १५ हजार स्याउका बिरुवा छन्। बगैंचा निर्माणमा हालसम्म ८ करोड ७५ लाख रुपैयाँ लगानी भइसकेको छ।
गिरीले उत्पादन र बजार मूल्यबीचको ठूलो अन्तरबारे बताए। केजीको २ सय रुपैयाँमा बिक्री भएको स्याउ काठमाडौंमा ३ सय ५० रुपैयाँसम्ममा बिक्री हुने गरेको छ। बगैंचामा ७ जना कर्मचारी कार्यरत छन्। उनीहरूको मासिक तलबमा १ लाख ६७ हजार रुपैयाँ खर्च हुन्छ।
