NM Khabar 1 June 2026
NM Khabar

हामीलाई पछ्याउनुहोस्

प्रधानमन्त्रीको अभिव्यक्तिबारे कांग्रेसको प्रश्न: भारतले जमिन मागेमा कुन दिने?

प्रमुख प्रतिपक्षी नेपाली कांग्रेसले प्रधानमन्त्री बालेन्द्र शाहको 'नेपालले भारतको भूमि मिचेको छ' भन्ने अभिव्यक्तिको कडा प्रतिवाद गरेको छ। कांग्रेसले प्रधानमन्त्रीले कहाँकहाँ जमिन मिच्यो भन्ने एक इन्चको हिसाब दिनुपर्ने र उक्त अभिव्यक्ति फिर्ता लिनुपर्ने माग गरेको छ। भारतले मिचिएको जमिन फिर्ता मागेमा कुन जमिन दिने भन्ने प्रश्न उठाउँदै कांग्रेसले संसद बैठक अघि नबढ्ने अडान लिएको छ।
NM Khabar
NM Khabar
1 June 2026, 3:02 pm १ मिनेट पढाइ
आकार:
प्रधानमन्त्रीको जमिन मिचाइ अभिव्यक्ति
Share:

प्रधानमन्त्री बालेन्द्र शाहले नेपालले भारतको भूमि मिचेको भन्ने अभिव्यक्ति फिर्ता लिनुपर्ने नेपाली कांग्रेसको माग छ। उक्त अभिव्यक्तिले राष्ट्रिय स्वाभिमानमा चोट पुर्‍याएको भन्दै कांग्रेसले संसद बैठक अघि नबढ्ने अडान लिएको छ।

सोमबार प्रतिनिधिसभा बैठकमा कांग्रेसका प्रमुख सचेतक निस्कल राईले प्रधानमन्त्रीको अभिव्यक्तिले नेपाली जनताको शिर निहुराएको बताए। ‘हिजो प्रधानमन्त्रीज्यूले छाती चौडा बनाउँदै बोलेको विषयले आज मेरो मात्र होइन, आम नेपाली नागरिकको शिर निहुराएको छ,’ उनले भने।

राईले प्रधानमन्त्रीको अभिव्यक्ति नजिर बनेर स्थापित भएको भन्दै त्यसको जवाफ सदनलाई दिनुपर्ने माग गरे। ‘प्रधानमन्त्रीले संसदलाई जानकारी गराउनुपर्छ कहाँकहाँ नेपालले भारतको जमिन मिच्यो। एक एक इन्चको हिसाब चाहिन्छ। भोलि भारतले आफ्नो भूमि फिर्ता मागेमा कुन जग्गा दिने?’ उनले प्रश्न गरे।

राईले प्रधानमन्त्रीको अभिव्यक्तिले विश्व समुदायमाझ नेपाललाई अतिक्रमणकारी मुलुकको रुपमा प्रस्तुत गरेको आरोप लगाए। ‘सार्वभौम संसदको रोष्ट्रममा उभिएर उहाँले बोलेको विषयमा हाम्रो ‘नोट अफ डिसेन्ट’ छ। नेपालले कहाँकहाँ भारतको जग्गा मिच्यो एक–एक इन्चको हिसाब हामीलाई दिनुपर्छ,’ राईले भने।

राईले सत्तापक्षका सांसदले प्रधानमन्त्रीको अभिव्यक्तिको बचाउमा ताली बजाएकोमा आपत्ति जनाए। ‘रोष्ट्रममा उभिएर प्रधानमन्त्रीज्यूले भन्नुभयो नेपालले पनि भारतको जग्गा मिचेको छ। यसमा सत्ता पक्षका माननीयहरूले ताली पड्काउनुभयो। उहाँहरूलाई पनि आत्मग्लानी हुनुपर्छ,’ उनले भने।

परराष्ट्र मन्त्रालयले प्रधानमन्त्रीको अभिव्यक्ति ‘क्रस बोर्डर अकुपेशन’ सँग सम्बन्धित रहेको दाबी गरे पनि राईले जमिन मिचेको विषय कसरी क्रस बोर्डर अकुपेशन हुन्छ भन्दै प्रश्न उठाए। उनले प्रधानमन्त्रीको अभिव्यक्ति चरम अपरिपक्व र राष्ट्रहित विपरीत रहेको बताए।

यसैबीच, श्रम संस्कृति पार्टीका प्रमुख सचेतक आरेन राईले पनि प्रधानमन्त्री बालेन शाहको अभिव्यक्तिलाई आधार बनाएर भूमि फिर्ता मागेमा कुन दिने भनेर प्रश्न गरेका छन्।

NM Khabar

NM Khabar

संवाददाता · NM Khabar

NM Khabar का आधिकारिक संवाददाता। सत्य, तथ्य र निष्पक्ष समाचारको लागि हामीलाई पछ्याउनुहोस्।

सम्बन्धित समाचार