पश्चिम नवलपरासीको सुस्तामा नारायणी नदीको बाढी नियन्त्रणका लागि निर्माणाधीन तटबन्धमा भारतीय सशस्त्र सीमा बल (एसएसबी) ले अवरोध गरेको छ। यो कदमले सीमा क्षेत्रमा तनाव बढाएको छ।
सुस्ता बचाउ अभियानका अनुसार, नेपालले आफ्नो भूमि मानेको र विवादित नभनिएको क्षेत्रमा समेत तटबन्ध निर्माणमा एसएसबीले रोक लगाएको छ। अभियानका प्रवक्ता रविन्द्र जैसवालले अनलाइनखबरसँग भने, ‘भारतले दाबी गरेको क्षेत्रभन्दा ३० मिटर नेपालतर्फ बनेको तटबन्ध पनि एसएसबीले रोकेको छ।’
ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्रालय अन्तर्गतको सिँचाइ तथा जलस्रोत आयोजना कार्यालय, भरतपुरले करिब १२ करोडको लागतमा तटबन्ध निर्माण गरिरहेको छ। नेपाल पक्षको दाबीअनुसार थारू टोलको सिमलको रुखसम्मको भूभाग नेपालको हो। तर, एसएसबीले सिमलको रुखभन्दा करिब एक सय मिटर तल रहेको भेल्लरको रुखसम्म मात्र नेपालको भूभाग भएको दाबी गर्दै आएको छ।
आयोजनाले १३२ मिटर लामो तटबन्ध निर्माणका लागि ठेक्का लगाइसकेको छ, तर काम सुरु हुन बाँकी छ। हाल काम भइरहेको ४०० मिटर क्षेत्र पनि नेपालकै भूमि भएको दाबी गरिएको छ। स्रोतका अनुसार, एसएसबीका प्रतिनिधिहरूले काम रोक्न निर्देशन दिएपछि आयोजनाका इन्जिनियरहरूले जिल्ला प्रशासन कार्यालय र गृह मन्त्रालयमा जानकारी गराएका थिए।
यस विषयमा आइतबार भारतीय एसएसबी र नेपालको सशस्त्र प्रहरी बलका अधिकारीहरूबीच छलफल भए पनि कुनै निकास निस्कन सकेन। यसले गर्दा नेपाली भूमिमा भइरहेको तटबन्धको कामसमेत रोकिएको छ।
अभियानका प्रवक्ता जैसवालले प्रधानमन्त्रीको हालैको संसदमा दिएको अभिव्यक्ति र एसएसबीले काम रोकेको घटनाबीच तत्काल कुनै सम्बन्ध नभएको बताए। यद्यपि, उनले सीमा समस्या समाधानमा यस्ता अभिव्यक्तिले दीर्घकालीन असर पार्न सक्ने चिन्ता व्यक्त गरे।
