काठमाडौं– प्रतिनिधिसभा बैठकमा आइतबार भएको अमर्यादित र आपत्तिजनक व्यवहारको छानबिन गर्न समिति गठन गरिएको छ। सभामुख देवप्रसाद अर्यालले घटनाको जाँचबुझ गरी प्रतिवेदन बुझाउनका लागि सो समिति गठन गरेका हुन्।
संघीय संसद् सचिवालयका सचिव प्रकाश अधिकारीको संयोजकत्वमा गठित समितिमा संघीय संसद् सचिवालयका आन्तरिक सेवा तथा योजना व्यवस्थापन महाशाखा प्रमुख र प्रविधि व्यवस्थापन महाशाखा प्रमुख सदस्य रहेका छन्। समितिले सात दिनभित्र सभामुखसमक्ष प्रतिवेदन पेस गर्नेछ।
आइतबारको बैठकमा प्रतिनिधिसभा नियमावली २०८३ पारित गर्ने प्रक्रियाप्रति असहमति जनाउँदै विपक्षी दलका सांसदहरूले वेल घेराउ गरेका थिए। उक्त क्रममा केही कुर्सी र माइकमा भौतिक क्षति पुगेको थियो।
सभामुख अर्यालले प्राप्त प्रतिवेदनका आधारमा प्रतिनिधिसभा नियमावली २०८३ को नियम ३३ को उपनियम ४ बमोजिम घटनामा संलग्नलाई आवश्यक कारबाही अगाडि बढाउन सकिने बताएका छन्।
