मनिष श्रीओम, जनकपुरधाम
त्रेतायुगदेखिको ऐतिहासिक, धार्मिक र सांस्कृतिक सम्बन्ध बोकेका जनकपुरधाम र अयोध्याबीच प्रत्यक्ष रेल सेवा मंगलबारबाट सञ्चालनमा आएको छ। ‘सरयू–कमला एक्सप्रेस’ नाम दिइएको यस रेल सेवाको औपचारिक शुभारम्भसँगै जनकपुरधामको धार्मिक पर्यटन तथा स्थानीय अर्थतन्त्रमा नयाँ उत्साह थपिएको छ।
नेपालका प्रधानमन्त्री बालेन शाह र भारतका प्रधानमन्त्री नरेन्द्र मोदीले संयुक्त रूपमा हरियो झन्डा देखाएर सेवाको शुभारम्भ गरेपछि अयोध्याबाट यात्रु बोकेर छुटेको उद्घाटन विशेष रेल मंगलबार जनकपुरधाम आइपुगेको थियो। जनकपुरधाम रेल्वे स्टेसनमा मधेस प्रदेशका मुख्यमन्त्री सरोजकुमार यादवले रेल तथा यात्रुहरूलाई भव्य स्वागत गर्नुभयो।
यो रेल सेवाले दुई पवित्र नगरीबीचको ६०४ किलोमिटर दूरी करिब १९ घण्टामा तय गर्नेछ। यसमा आधुनिक सुविधासम्पन्न १७ वटा एलएचबी डिब्बा रहेका छन्। अयोध्या धामबाट छुटेपछि यो रेल मनकापुर, बस्ती, गोरखपुर, नरकटियागञ्ज, रक्सौल, सीतामढी, शिशो, मधुबनी र जयनगर हुँदै जनकपुरधाम आइपुग्नेछ।
उद्घाटन विशेष रेल मंगलबार आए पनि सर्वसाधारणका लागि नियमित व्यावसायिक सेवा आगामी मंसिर १२ गते (नोभेम्बर २८) देखि सञ्चालनमा आउनेछ। यसअघि यो रेल सेवा नोभेम्बर २३ मा उद्घाटन हुने एनएमखबरले जनाएको थियो।
मधेसको पर्यटन र ‘रोटी–बेटी’ सम्बन्धमा नयाँ आयाम
रामायणकालमा राम–जानकीको वैवाहिक सम्बन्धले जोडिएका यी दुई सहरबीचको प्रत्यक्ष रेल सम्पर्कलाई जनकपुरधामवासीले ऐतिहासिक उपलब्धिका रूपमा लिएका छन्। यो सेवाले ‘रामायण सर्किट’ को यात्रालाई मूर्त रूप दिँदै जनकपुरधामको जानकी मन्दिर, विवाहमण्डप र अयोध्याको राममन्दिर दर्शन गर्न चाहने विश्वभरका हिन्दू धर्मावलम्बीलाई सीधा यात्राको सुविधा मिलेको छ।
रेल सेवा सञ्चालनसँगै जनकपुरधामको स्थानीय अर्थतन्त्र चलायमान हुने अपेक्षा गरिएको छ। भारतीय पर्यटकको प्रत्यक्ष आगमन बढ्दा यहाँका होटल व्यवसाय, यातायात, स्थानीय बजार, मिथिला चित्रकला, हस्तकला तथा पूजा सामग्रीको व्यापारमा उल्लेखनीय वृद्धि हुने विश्वास स्थानीय पर्यटन व्यवसायीहरूले व्यक्त गरेका छन्।
नेपाल–भारत सीमा विज्ञ तथा मिथिला संस्कृतिका जानकार डा. राजीव झाले यो रेल सेवाले दुई देशबीचको सदियौँ पुरानो ‘रोटी–बेटी’ को सम्बन्धलाई थप जीवन्त र सहज बनाउने बताउनुभएको छ। उहाँका अनुसार, “अयोध्या र जनकपुरधामबीचको यो रेल सम्पर्क केवल दुई सहर जोड्ने माध्यम मात्र होइन, मिथिला र समग्र नेपाल–भारतबीच पुस्तौँदेखि चलिआएको ‘रोटी–बेटी’ को सम्बन्ध, साझा संस्कृति र जनस्तरको आत्मीयतालाई आधुनिक समयमा अझ सुदृढ बनाउने महत्वपूर्ण कडी हो।”
डा. झाका अनुसार खुला र संवेदनशील सीमावर्ती क्षेत्रमा सुरक्षित, व्यवस्थित र सहज आवतजावतले पारिवारिक भेटघाटसँगै सांस्कृतिक तथा आर्थिक आदानप्रदानलाई समेत नयाँ गति दिनेछ। यसले सीमावर्ती क्षेत्रको समृद्धिमा नयाँ अध्याय थप्ने विश्वास लिइएको छ।
नियमित सेवा तालिका
| मार्ग | प्रस्थान | समय | गन्तव्य | समय | दिन |
|---|---|---|---|---|---|
| अयोध्या–जनकपुरधाम | अयोध्या क्यान्ट | साँझ ५:५० बजे | जनकपुरधाम | दिउँसो १२:४० बजे | सोमबार प्रस्थान, मंगलबार आगमन |
| जनकपुरधाम–अयोध्या | जनकपुरधाम | दिउँसो १:१० बजे | अयोध्या क्यान्ट | बिहान ८:१० बजे | शनिबार प्रस्थान, आइतबार आगमन |
यो रेल सेवाले आगामी मंसिर १२ गते (नोभेम्बर २८) देखि नियमित व्यावसायिक सञ्चालनमा आउनेछ, जसले नेपाल–भारत मैत्री तथा स्थानीय समृद्धिमा दीर्घकालीन योगदान पुर्याउने अपेक्षा गरिएको छ।
