आकर्षक तलबमा वैदेशिक रोजगारीमा पठाइदिने भन्दै १ करोड ४१ लाख ५१ हजार ठगी गरेको आरोपमा प्रहरीले नौजनालाई पक्राउ गरेको छ। उनीहरूले ३१ जना पीडितलाई मौरिसस र सेसेल्स पठाइदिने प्रलोभन देखाएका थिए।
काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालय, टेकुका प्रहरी उपरीक्षक शरत कुमार थापा क्षेत्रीका अनुसार जेठ १८ गते तिर्थमान भोलन र गोवर्धन नेपाली पक्राउ परे। मकवानपुरका भोलन गोकर्णेश्वर र नुवाकोटको नेपाली तारकेश्वरका बासिन्दा हुन्। उनीहरूले पीडितलाई सेसेल्स लैजाने भन्दै झुक्याए। विदेश नपठाएपछि पीडितले उजुरी दिएका थिए। प्रहरीले बौद्धबाट उनीहरूलाई पक्राउ गरेको हो।
सोही आरोपमा बर्दियाका राजेश क्षेत्री पनि पक्राउ परेका छन्। उनले पनि ३१ जना पीडितबाट १ करोड ४१ लाख ५१ हजार ठगी गरेको आरोप छ। थप अनुसन्धानका लागि प्रहरी परिसर, भद्रकाली काठमाडौं पठाइएको छ।
गोरखाका रोशन बाबु मल्ल, नुवाकोटको उपेन्द्र तामाङ, सुनसरीका उज्वल थापा मगर, बर्दियाका प्रकाश सिंखडा, लमजुङकी ज्योति गुरुङ र पाल्पाका राजीव न्यौपाने पनि पक्राउ परेका छन्। उनीहरूलाई थप अनुसन्धानका लागि वैदेशिक रोजगार विभाग, ताहाचल पठाइएको प्रहरी उपरीक्षक थापा क्षेत्रीले जानकारी दिए।
