NM Khabar 5 June 2026
NM Khabar

हामीलाई पछ्याउनुहोस्

इबोला रोकथाममा स्वास्थ्य मन्त्रालयको उच्च सतर्कता

अफ्रिकी मुलुकमा इबोला भाइरस संक्रमण देखिएपछि नेपालमा सम्भावित जोखिम रोक्न स्वास्थ्य मन्त्रालयले उच्च सतर्कता अपनाएको छ। त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल र सीमा नाकामा निगरानी बढाइएको छ। हालसम्म नेपालमा इबोला संक्रमणको पुष्टि भएको छैन।
Laxmi Bhattarai
Laxmi Bhattarai
3 June 2026, 8:32 pm १ मिनेट पढाइ
आकार:
इबोला भाइरस नेपाल
Share:

स्वास्थ्य तथा खाद्य स्वच्छता मन्त्रालयले इबोला भाइरसको रोकथाम र नियन्त्रणका लागि उच्च सतर्कता अपनाएको छ। अफ्रिकी मुलुकमा संक्रमण देखिएपछि नेपालमा जोखिम हुन सक्ने भन्दै मन्त्रालयले सम्भावित जोखिम रोक्न यो कदम चालेको हो। मन्त्रालयका सहप्रवक्ता डा. समिरकुमार अधिकारीले यो जानकारी दिए।

उनका अनुसार त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल र सीमा नाकामा निगरानी तथा उच्च सतर्कता अपनाइएको छ। ‘हामी जहाँ संक्रमण देखिएको छ, त्यो देशभन्दा टाढा छौँ। तर पनि नेपालमा भाइरसको प्रवेश रोक्न उच्च सतर्कता अपनाएका छौँ,’ अधिकारीले भने। स्वास्थ्यकर्मी अभिमुखीकरण, उपचार व्यवस्थापन र संक्रमण नियन्त्रणका उपायबारे छलफल भएको छ।

इबोला संक्रमण भएको क्षेत्रमा जान सक्ने नेपाली नागरिकको व्यवस्थापन र मापदण्डबारे समन्वय भइरहेको छ। विश्व स्वास्थ्य सङ्गठन (डब्लूएचओ) ले यसलाई अन्तर्राष्ट्रिय सरोकारको जनस्वास्थ्य आपत्कालीन अवस्था घोषणा गरेको छ।

मन्त्रालयले संक्रमित व्यक्ति नेपाल भित्रिन सक्ने सम्भावित नाकामा स्वास्थ्यकर्मी परिचालन गरी शंकास्पद बिरामीको परीक्षण गरिरहेको छ। नेपालमा अहिलेसम्म इबोला भाइरस संक्रमणको पुष्टि भएको छैन।

इबोला संक्रमण हुँदा अचानक कडा ज्वरो, अत्यधिक कमजोरी, वान्ता, पेट दुख्ने, टाउको, मांसपेशी र घाँटी दुख्ने लक्षण देखिन्छन्। छालामा डाबर आउने, कलेजो तथा मिर्गौलामा असर पुग्ने र केही बिरामीमा आन्तरिक वा बाह्य रक्तश्राव हुने गर्दछ।

Laxmi Bhattarai

Laxmi Bhattarai

संवाददाता · NM Khabar

संसद र सरकारी नीतिको क्षेत्रमा एक दशकभन्दा बढी अनुभव भएकी लक्ष्मी भट्टराई NM खबरकी वरिष्ठ संवाददाता हुन्। मन्त्रिपरिषद्का निर्णय, संसदीय बहस र प्रशासनिक मामिलाहरूमा उनको गहन विशेषज्ञता छ।

सम्बन्धित समाचार