कानुनी र संवैधानिक व्यवस्थाका बाबजुद समाजका विभिन्न क्षेत्रमा जातीय विभेद तथा छुवाछूतका घटना भइरहनु चिन्ताजनक छ। नेपाली कांग्रेस संसदीय दलका नेता भीष्मराज आङदेम्बेले यस्ता अमानवीय व्यवहारले मानव मर्यादा, सामाजिक सद्भाव र लोकतान्त्रिक मूल्यमाथि आघात पुर्याउने बताए।
जातीय भेदभाव तथा छुवाछूत उन्मूलन राष्ट्रिय दिवसका अवसरमा शुभकामना सन्देश जारी गर्दै आङदेम्बेले कुनै पनि बहानामा जातीय विभेद गर्न नपाइने स्पष्ट पारे। उनले यस्ता व्यवहारले सामाजिक सद्भाव भत्किने चेतावनी दिए।
नेता आङदेम्बेले विभेदको अन्त्य केवल कानुन कार्यान्वयनबाट सम्भव नहुने बताए। यसका लागि समाजमा चेतना, सहिष्णुता, सम्मान र समान व्यवहारको संस्कृति विकास हुनुपर्नेमा जोड दिए।
