सिरहा र धनुषा जोड्ने हुलाकी राजमार्गको कमला पुल १५ वर्षदेखि अलपत्र छ। पूर्वाधार विकासमन्त्री सुनील लम्सालले पुलको पछिल्लो अवस्था बुझ्न स्थलगत निरीक्षण गरे।
पूर्वी मधेसका आयोजना अनुगमन क्रममा मन्त्री लम्सालको टोलीले पुल अवलोकन गर्यो। १५ वर्षमा लम्सालसहित १८ मन्त्रीले पुलको निरीक्षण गरिसकेका छन्।
मन्त्री फेरिए, निरीक्षण भए, तर पुल निर्माण अधुरै छ। यसले स्थानीय नागरिक लामो समयदेखि सास्तीमा छन्।
मन्त्री लम्सालको पछिल्लो निरीक्षणमा स्थानीयले विरोध जनाए। पुल निर्माणको स्पष्ट कार्ययोजना नभएको भन्दै उनीहरूले असन्तुष्टि व्यक्त गरे।
मन्त्री लम्सालले अब काम नरोकिने प्रतिबद्धता जनाए। उनले कमला पुलसहित अन्य ठूला पूर्वाधार आयोजनाको पनि अनुगमन गरे।
टोलीले काँकडभिट्टा–लौकही सडकका तीन खण्डको प्रगति बुझ्यो। सप्तरीको कञ्चनपुरदेखि सिरहाको कमलासम्मको ८७ किमि सडक चार लेन बनाउने कामको पनि जानकारी लियो।
मन्त्री लम्सालले एसियाली विकास बैंक र विश्व बैंकका परियोजनाको पनि निरीक्षण गरे। आयोजना समयमै सम्पन्न गर्न सहजीकरण र अनुगमनलाई प्राथमिकता दिने बताए।
यसअघि मन्त्री लम्सालले बुटवल–मुग्लिङ–नागढुंगा सडकखण्ड अनुगमन गरेका थिए। उनले समयमै काम सक्न निर्देशन दिएका थिए।
