निरन्तर अवरुद्ध हुँदै आएको प्रतिनिधि सभाको २० औँ बैठक आज बुधबार बस्दैछ। बिहान ११ बजेका लागि निर्धारित बैठकमा विभिन्न महत्वपूर्ण कार्यसूची रहेका छन्।
सभामुख डिपी अर्यालले प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयबाट प्राप्त कार्यभार थपसम्बन्धी पत्रको बेहोरा पढेर सुनाउनेछन्। यसका साथै, सभामुखले कार्यव्यवस्था परामर्श समितिमा सदस्यहरूको मनोनयनबारे जानकारी गराउनेछन्। राष्ट्रिय सभाबाट ‘वैकल्पिक विकास वित्त परिचालन विधेयक, २०८२’ अवधिभित्र फिर्ता नभएको जानकारी पनि बैठकमा गराइनेछ।
संसद्का महासचिव पद्म प्रसाद पाण्डेयका अनुसार, अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले ‘आ.व. २०८३/०८४ को राजस्व र व्ययको वार्षिक अनुमानमाथि सामान्य छलफल प्रारम्भ गरियोस्’ भन्ने प्रस्ताव प्रस्तुत गर्नेछन्। यससँगै वार्षिक अनुमानमाथि सामान्य छलफल सुरु हुनेछ र अर्थमन्त्रीले उठेका प्रश्नहरूको जवाफ दिनेछन्।
व्यवस्थापन कार्यअन्तर्गत अर्थमन्त्री वाग्लेले ‘विनियोजन विधेयक, २०८३’, ‘राष्ट्र ऋण उठाउने विधेयक, २०८३’ र ‘नेपाल राष्ट्र बैंक (तेस्रो संशोधन) विधेयक, २०८३’ प्रस्तुत गर्न अनुमति माग्ने प्रस्ताव राख्नेछन् र सोही प्रस्तावमाथि विधेयकहरू प्रस्तुत गर्नेछन्।
यसैगरी, सूचना तथा सञ्चारमन्त्री डा. विक्रम तिमिल्सिनाले राष्ट्रिय सभामा उत्पत्ति भएको ‘चलचित्र विधेयक, २०८२ लाई दफावार छलफलको लागि सम्बन्धित समितिमा पठाइयोस्’ भन्ने प्रस्ताव प्रस्तुत गर्नेछन्।
