हुम्लाको चंखेली गाउँपालिका–२ मा भारत सरकारको करिब १४ करोड ८० लाख रुपैयाँ सहयोगमा ‘नेपाल–भारत मैत्री अस्पताल’ भवन निर्माणको शिलान्यास गरिएको छ। दुर्गम क्षेत्रका नागरिकलाई आधुनिक स्वास्थ्य सेवा पुर्याउने लक्ष्य छ।
यो सुविधासम्पन्न अस्पताल भवन भारत सरकारको उच्च प्रभाव सामुदायिक विकास परियोजना अन्तर्गत बन्दैछ। यसको कार्यान्वयन र व्यवस्थापनको जिम्मा चंखेली गाउँपालिकालाई दिइएको छ।
शिलान्यास कार्यक्रममा चंखेली गाउँपालिकाका अध्यक्ष र स्थानीय सरोकारवालाहरूले नेपालको विकासमा भारत सरकारको निरन्तर सहयोगको प्रशंसा गरे। भौगोलिक विकटता रहेको यस क्षेत्रमा नयाँ अस्पताल संरचनाले स्थानीय नागरिकलाई सहज, सुलभ र भरपर्दो स्वास्थ्य सेवा मिल्ने विश्वास व्यक्त गरियो।
नेपालका लागि भारतीय राजदूत नवीन श्रीवास्तवले भिडियो सन्देशमार्फत परियोजनाका सरोकारवालाहरूलाई बधाई दिए। उनले साझा विकास र समृद्धिका लागि नेपाल सरकारसँग मिलेर काम गर्ने भारतको प्रतिबद्धता दोहोर्याए।
नेपालमा उच्च प्रभाव सामुदायिक विकास परियोजना अन्तर्गत हालसम्म ७ प्रदेश र ७४ जिल्लामा करिब ६०० परियोजना सञ्चालन भएका छन्। हुम्लाको यो अस्पताल परियोजना तेस्रो यस्तै परियोजना हो।
यसअघि भारत सरकारले हुम्लाको सर्केगाडस्थित श्री सरस्वती माविमा पुस्तकालय र चंखेली–दार्मास्थित श्री महादेव उमाविमा प्रयोगशाला तथा पुस्तकालय भवन निर्माणमा सहयोग गरेको थियो। सन् २०२४ जुलाईमा हुम्लाका चंखेली, सर्केगाड र सिमकोट गाउँपालिकाका १० सदस्यीय टोलीका लागि भारतमा अध्ययन भ्रमणको समेत आयोजना गरिएको थियो।
