विशेष अदालतले उपत्यका विकास प्राधिकरण अन्तर्गत वाग्मती नगर जग्गा एकीकरण आयोजनाका करार अमिन दिनेश प्रसाद यादवलाई १ करोड १२ लाख ७० हजार ६६८ रुपैयाँ ६२ पैसाको अवैध सम्पत्ति आर्जन गरेको ठहर गरेको छ। अदालतले यादवलाई १ वर्ष कैद र सोही बराबरको बिगो जफत गर्ने फैसला सुनाएको हो।
विशेष अदालतका अध्यक्ष सुदर्शन देव भट्ट तथा सदस्य न्यायाधीशहरू उमेश कोइराला र विदुर कोइरालाको संयुक्त इजलासले यादवलाई भ्रष्टाचारी ठहर गरेको हो। जाँच अवधि २०६३/०५/०८ देखि २०८१/०३/३० सम्ममा यादवको खुद आय ४ करोड २५ लाख ९२ हजार ९५१ रुपैयाँ ३० पैसा देखिएको थियो। तर, सोही अवधिमा उनको खुद व्यय ५ करोड ३८ लाख ६३ हजार ६१९ रुपैयाँ ९२ पैसा देखिएको फैसलामा उल्लेख छ।
अदालतको फैसलामा भनिएको छ, “प्रतिवादीलाई निजको पदीय हैसियत, भूमिका र गैरकानुनी रूपमा आर्जन गरेको सम्पत्तिको बिगोको आधारमा ऐ. दफा २० को उपदफा (२) बमोजिम ठहर्छ।” अपराध संरक्षण ऐन, २०७५ को दफा ४१ को उपदफा (३) बमोजिम प्रतिवादीबाट क्षतिपूर्ति शुल्कबापत पीडित राहत कोषमा ४ लाख ५० हजार ८२६ रुपैयाँ दाखिला गराउन पनि अदालतले आदेश दिएको छ।
गैरकानुनी रूपमा आर्जन गरेको उक्त रकम बराबरको जग्गा र सोबाट बढेबढाएको सम्पत्तिसमेत जफत हुने फैसलामा जनाइएको छ।
