NM Khabar 17 June 2026
NM Khabar

हामीलाई पछ्याउनुहोस्

रास्वपा महाधिवेशन: प्रदर्शनी केन्द्र प्रयोगमा चितवन कांग्रेसको आपत्ति

राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को महाधिवेशनका लागि चितवन प्रदर्शनी केन्द्र प्रयोग गर्ने तयारीमाथि नेपाली कांग्रेस चितवनले प्रश्न उठाएको छ। कांग्रेसले प्रदर्शनी केन्द्रको प्रयोग सम्झौताविपरीत हुने र यसले संघको गैरराजनीतिक चरित्रमाथि प्रश्न उठाउने दाबी गरेको छ। उद्योग मन्त्रालयले रास्वपाको महाधिवेशनका लागि प्रदर्शनी केन्द्र प्रयोग गर्न उद्योग संघलाई पत्र पठाएको छ, तर संघले निर्णय गरिसकेको छैन।
Laxmi Bhattarai
Laxmi Bhattarai
17 June 2026, 9:48 am १ मिनेट पढाइ
आकार:
रास्वपा महाधिवेशन चितवन
Share:

राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को प्रथम महाधिवेशन चितवनमा आयोजना गर्ने तयारी छ। असार ७ गते उद्घाटन हुने महाधिवेशनको बन्दसत्र चितवन उद्योग संघको प्रदर्शनी केन्द्रमा गर्ने रास्वपाको योजना छ। यसमा नेपाली कांग्रेस चितवनले वैधानिकताको प्रश्न उठाएको छ।

कांग्रेस चितवनका सचिव ध्रुव पोखरेलले जारी गरेको विज्ञप्तिमा प्रदर्शनी केन्द्र दलगत कार्यक्रमका लागि प्रयोग गर्नु विधि र परम्पराविपरीत हुने उल्लेख छ। नेपाल सरकार र चितवन उद्योग संघबीचको सम्झौतामा उद्योग, व्यवसाय प्रवद्र्धनसम्बन्धी कार्यक्रमबाहेक अन्य गतिविधि गर्न नपाइने व्यवस्था छ। कांग्रेसले सत्तारुढ दलको महाधिवेशनका लागि केन्द्र प्रयोग गर्दा सम्झौताको भावनाविपरीत हुने ठहर गरेको छ।

संघीय र प्रदेश सरकारको अनुदानमा बनेको प्रदर्शनी केन्द्रमा दलगत कार्यक्रम गर्दा भविष्यमा कानुनी जटिलता आउन सक्ने कांग्रेसको भनाइ छ। यस्तै, एक दललाई अनुमति दिए अन्य दलले पनि समान माग गरेमा उद्योग संघको जवाफदेहिता र निर्णयको आधार के हुने भन्ने प्रश्न पनि कांग्रेसले उठाएको छ।

विज्ञप्तिमा चितवन उद्योग संघको कार्यसमिति निर्वाचनमा दलीय आबद्धता भएका व्यक्ति निर्वाचित हुन नपाउने व्यवस्था स्मरण गराइएको छ। दलगत कार्यक्रमले संघको स्वतन्त्र, निष्पक्ष र गैरराजनीतिक चरित्रमाथि प्रश्न उठ्ने कांग्रेसले जनाएको छ। रास्वपाले महाधिवेशन असार ७ देखि ९ गतेसम्म गर्ने तयारी गरेको छ।

यसैबीच, उद्योग मन्त्रालयले असार १ गते चितवन उद्योग संघलाई रास्वपाको महाधिवेशनका लागि एक पटक प्रदर्शनी केन्द्र प्रयोग गर्न दिन निर्देशन दिएको छ। यस विषयमा संघका अध्यक्ष मदन घिमिरेले पूर्व पदाधिकारी बसेर निर्णय गर्ने जानकारी दिएका छन्।

Laxmi Bhattarai

Laxmi Bhattarai

संवाददाता · NM Khabar

संसद र सरकारी नीतिको क्षेत्रमा एक दशकभन्दा बढी अनुभव भएकी लक्ष्मी भट्टराई NM खबरकी वरिष्ठ संवाददाता हुन्। मन्त्रिपरिषद्का निर्णय, संसदीय बहस र प्रशासनिक मामिलाहरूमा उनको गहन विशेषज्ञता छ।

सम्बन्धित समाचार