साउन १ गतेदेखि पुँजीगत लाभकरमा भएको वृद्धिसँगै असार ३२ गते जग्गा कारोबारले ऐतिहासिक रेकर्ड कायम गरेको छ। सो दिन १ अर्ब ७३ करोड ७७ लाखभन्दा बढी राजस्व संकलन भएको छ।
भूमि व्यवस्थापन विभागका अनुसार असार ३२ गते देशभरका १ सय ३६ मालपोत कार्यालय र ६ नगरपालिकाबाट १० हजार ९ सय ६८ वटा जग्गाको कारोबार भएको थियो। यस दिन १ अर्ब ७३ करोड ७७ लाख २५ हजार ७ सय ८८ रुपैयाँ राजस्व संकलन भयो।
विभागका आइटी प्रमुख बलराम काफ्लेले अहिलेसम्म एकै दिन यति धेरै जग्गाको कारोबार भएको रेकर्ड नभएको बताए। असार ३१ गते १० हजार १ सय २ वटा जग्गाको कारोबारबाट १ अर्ब १८ करोड ९९ लाख ६५ हजार ७ सय ६४ रुपैयाँ राजस्व उठेको थियो।
सरकारले साउन १ गतेदेखि पुँजीगत लाभकर बढाएको छ। अब साढे सात प्रतिशत र १० प्रतिशत कर लागू भएको छ, जुन पहिले पाँच प्रतिशत र साढे सात प्रतिशत थियो।
नयाँ कर प्रणाली लागू हुनुअघि जग्गा बिक्री गर्नेहरूले लाभकर तिर्नुपर्ने भएकाले कारोबार ह्वात्तै बढेको हो। नयाँ व्यवस्थाअनुसार पाँच वर्षभन्दा पुरानो जग्गाको लाभकर साढे सात प्रतिशत र पाँच वर्ष नपुगेको जग्गाको लाभकर १० प्रतिशत लाग्नेछ।
हाल मेलम्ची, शिवसताक्षी, चौदण्डीगढी, भूम्लु, कन्काई र मनोहरा–कागेश्वरी नगरपालिकाबाट पनि जग्गा कारोबारको व्यवस्था मिलाइएको छ।
