प्रहरीले शुक्रबार बिहान चितवनको राप्ती नगरपालिका–१ लोथरस्थित चेकिङ पोइन्टबाट फल्स बटम बनाएर लुकाइएको ४४३ किलो लागुऔषध गाँजा बरामद गरेको छ। यस क्रममा दुई जना भारतीय नागरिकलाई पक्राउ गरी थप अनुसन्धान थालिएको छ।
इलाका प्रहरी कार्यालय भण्डारा र अस्थायी प्रहरी पोस्ट लोथरको संयुक्त टोलीले शुक्रबार बिहान ९ बजे हेटौँडाबाट चितवनतर्फ आउँदै गरेको भारतीय कन्टेनर ट्रक (नम्बर NL 0107792) चेकजाँच गर्दा चालक सिट पछाडिको क्याबिनमा नक्कली तह (फल्स बटम) बनाई गाँजा लुकाइएको अवस्थामा फेला पारेको थियो।
४४३ किलो गाँजा बरामद: पछिल्लो तीन वर्षकै उच्च
पक्राउ पर्नेमा भारतको वैशाली जिल्ला चर्खाजेका २४ वर्षीय चालक सत्यम कुमार र सोही जिल्ला बाबन घाटका २० वर्षीय सहचालक रौनक कुमार रहेका छन्। नेपाल प्रहरीको लागुऔषध नियन्त्रण ब्युरोका अनुसार, आर्थिक वर्ष २०८२/८३ मा १,६०३ किलोग्राम गाँजा बरामद भएको थियो। आर्थिक वर्ष २०८१/८२ मा २५५.१७४ किलोग्राम र २०८०/८१ मा १२०.७८२ किलोग्राम गाँजा बरामद भएको थियो। यो बरामदगी पछिल्लो तीन आर्थिक वर्षमा एकैपटक बरामद भएको सबैभन्दा ठूलो परिमाण हो।
भारतसँगको खुला सिमानाका कारण लागुऔषध ओसारपसार र दुर्व्यसन मधेश प्रदेशका लागि गम्भीर चुनौती बनेको छ। मधेश प्रदेश प्रहरी कार्यालयका अनुसार, लागुऔषध प्रयोगकर्ताहरूको सबैभन्दा बढी संख्या १५ देखि २८ वर्ष उमेर समूहमा छ। प्रहरीका अनुसार, सिराहा, सप्तरी, धनुषा, महोत्तरी, सर्लाही, रौतहट, बारा र पर्सा जस्ता मधेशका जिल्लाहरूबाट पहाडी जिल्लाहरू र काठमाडौंसहित प्रमुख सहरहरूमा लागुऔषध पुग्छ।
गाँजा वैधानिकीकरणको कानुनी प्रक्रिया
नेपालमा सन् १९७६ देखि लागुऔषध (नियन्त्रण) ऐन, २०३३ अन्तर्गत गाँजाको खेती, उत्पादन, बिक्री, खरिद, ढुवानी र निर्यातमा प्रतिबन्ध लगाइएको छ। यद्यपि, २०८३ साउन १८ गते गण्डकी प्रदेशले औषधीय प्रयोगका लागि गाँजा खेतीलाई वैधानिकता दिने विधेयक पारित गरेको थियो।
यस्तै, २०८३ मंसिर १ गते सर्वोच्च अदालतले संघीय सरकारलाई तीन महिनाभित्र औषधीय, वैज्ञानिक, कृषि र औद्योगिक गाँजाका लागि इजाजतपत्रको खाका बनाउन आदेश दिएको छ। गृह मन्त्रालयले लागुऔषध दुर्व्यसनीलाई अपराधीको सट्टा उपचार र पुनर्स्थापना आवश्यक पर्ने बिरामीको रूपमा हेर्ने नीतिमा परिवर्तनको घोषणा गरे पनि तस्करहरू विरुद्ध कडा कानुनी कारबाही गर्ने प्रतिबद्धता जनाएको छ।
पक्राउ परेका दुई भारतीय नागरिकमाथि लागुऔषध गाँजाको ओसारपसार तथा कारोबारसम्बन्धी थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।