महिला, बालबालिका, लैङ्गिक तथा यौनिक अल्पसङ्ख्यक र सामाजिक सुरक्षा मन्त्री सिता बादी र प्रतिनिधिसभाकी उपसभामुख रुबी कुमारीले दाइजो प्रथा अन्त्यका लागि मधेश प्रदेशबाट राष्ट्रिय अभियान सुरु गर्ने तयारी गरेका छन्। आज मन्त्रालयमा भएको छलफलमा यो विषयले प्राथमिकता पाएको छ।
अभियानलाई देशभर विस्तार गर्ने योजना छ। यसका लागि स्थानीय तह, विद्यालय, समुदाय, धार्मिक तथा सामाजिक अगुवा, युवा, महिला समूह र नागरिक समाजको सक्रिय सहभागितामा देशव्यापी जनचेतनामूलक कार्यक्रम सञ्चालन गरिनेछ।
दुवै पक्षले दाइजो प्रथा महिला हिंसा, लैङ्गिक विभेद र सामाजिक अन्यायको प्रमुख कारण भएको औंल्याउँदै यसको अन्त्यका लागि कडा कानुनी कार्यान्वयन, प्रभावकारी अनुगमन र व्यापक जनचेतनामूलक अभियान सँगसँगै अघि बढाउनुपर्नेमा जोड दिएका छन्।
मन्त्री बादीले दाइजो प्रथालाई कानुनी र सामाजिक चुनौती दुवै मानेकी छन्। यसको अन्त्यका लागि राज्य, स्थानीय तह, शैक्षिक संस्था, नागरिक समाज, सञ्चारमाध्यम र समुदायको साझा प्रतिबद्धता आवश्यक रहेको उनको भनाइ छ। कानुनको प्रभावकारी कार्यान्वयनसँगै समाजमा व्यवहारगत परिवर्तन ल्याउने अभियानलाई समानान्तर रूपमा अघि बढाउनुपर्ने उनले बताइन्।
उपसभामुख रुबी कुमारीले मधेश प्रदेशबाट सुरु हुने अभियानले दाइजो प्रथाविरुद्ध राष्ट्रिय स्तरमा सकारात्मक सन्देश प्रवाह गर्ने विश्वास व्यक्त गरिन्। दाइजोमुक्त समाज निर्माणका लागि संघ, प्रदेश र स्थानीय तहबीच प्रभावकारी समन्वय तथा सबै सरोकारवालाको सक्रिय सहकार्य अपरिहार्य रहेको उनको भनाइ छ।
भेटका क्रममा दाइजो प्रथा अन्त्यका लागि कानुनी व्यवस्था थप प्रभावकारी बनाउने, जनचेतनामूलक अभियानलाई संस्थागत रूपमा अघि बढाउने र सम्बन्धित निकायबीच समन्वय र सहकार्यलाई थप सुदृढ बनाउने विषयमा समेत छलफल भएको थियो।
